बर्दियाको बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो । पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उनको अनुभव छ ।
उनले यस वर्ष पनि मकैसँगै रैथाने तरकारीको बीउ छरे पनि उत्पादन राम्रो नभएकोमा किसान थारुलाई दिक्क लागेको छ । ‘बोट उम्रिए पनि राम्रोसँग फलेन, फलेका बोटमै कुहिने र कीरा लाग्ने समस्या देखियो । पहिला बारीमा लटरम्म रैथाने टोंरै, भिण्डी, बोडी, काँक्रा फल्ने हुँदा त्यही तरकारी खान्थ्यौँ,’ किसान थारुले भनिन् ।
उनका अनुसार पहिले यतिबेला लोकल काँक्रा ठूलाठूला हुन्थे, एउटा काँक्रा एक्लै खान सकिँदैनथ्यो, अहिले ती काँक्रा पाउनै मुस्किल छ । उनले यस वर्ष स्थानीय र उन्नत दुवै जातका काँक्राको बीउ लगाएकी थिइन् । दुवै उम्रिए पनि रैथाने काँक्रा भने राम्रोसँग नफलेको उनले बताइन् ।
‘जलवायु परिवर्तनको असरले हो कि उन्नत जातको काँक्राको असरले हो, रैथाने काँक्रा फलेन,’ उनले भनिन् । बारीमा लटरम्म फल्ने स्थानीय रैथाने तरकारी विस्तारै हराउँदै गएपछि अहिले बारीमा पहिलाजस्तो तरकारी देखिन छाडेको छ ।
मकैको बारीमा मकैको बोटलाई नै आधार बनाएर लहरा फैलिने भएकाले छुट्टै संरचना बनाउनुपर्ने झन्झट हुँदैनथ्यो । ‘त्यसैले मकैबारीमा प्रायः बोडी र काँक्रा रोपिन्थ्यो । गाउँका प्राय मकैबारीमा बोडी र काँक्रा नफल्ने घर कमै हुन्थे,’ उनले भनिन्, ‘अहिले त्यस्तो देखिन छाडेको छ ।’
उनका अनुसार बजारमा पाइने बीउ लगाउने चलन बढेपछि पुराना बीउ हराउँदै छन् । सोही गाउँकी दुसानी थारुले भने पछिल्लो समय बजारमा सहजै पाइने उन्नत जातका बीउप्रति किसानको आकर्षण बढेको बताइन् । छोटो समयमा धेरै उत्पादन हुने र बजारमा बिक्री गर्न सहज हुने भएकाले किसानले रैथाने भन्दा उन्नत जातका बीउ रोज्न थालेको उनले बताइन् ।
बढैयाताल गाउँपालिकाका कृषि विकास शाखा प्रमुख दीपेन्द्र श्रीवस्तवले पनि उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले किसानको आकर्षण बढेको बताए । पालिकाले रैथाने बीउविजनको संरक्षण तथा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्दै आए पनि किसानले उन्नत जातका बीउलाई बढी प्राथमिकता दिने गरेको उनले बताए ।
पालिकाभित्र कतिपय किसानले रैथाने बीउ अझै पनि वर्षौंदेखि घरमै संरक्षण गर्दै आएको पाइन्छ । पछिल्लो समय किसानले तरकारी उत्पादनलाई व्यावसायिक बनाउँदै लगेपछि उनीहरुको प्राथमिकता पनि परिवर्तन भएको छ । घरायसी उपभोगका लागि मात्र उत्पादन गर्ने भन्दा व्यावसायिक उद्देश्यले तरकारीखेती गर्न थालेपछि धेरै किसानले उन्नत जातका बीउलाई प्राथमिकता दिन थालेको कृषि विकास शाखा प्रमुख श्रीवस्तवको भनाइ छ ।
