२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

बहुला खोलामा बाढी आएपछि भेरी करिडोर अवरुद्ध

जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध भएको छ । बहुला खोलामा आएको बाढीले सडकको विभिन्न भाग कटान गर्नुका साथै नलगाड–१ तर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिए । सडकमा बाढी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ ।

खहरे खोलामा आएको बाढीले सडक च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको हमालले बताए । भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ । यसैबीच, सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाड नगरपालिका–२ डाँडागाउँको खर्कमा हजारी खत्रीको एक हल गोरु मरेका छन् ।

वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत क्षति पुगेको स्थानीयवासी नारायणप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार रामकुमार जैसी र दामोदर खत्रीको घरसमेत जोखिममा परेको छ । गाउँ आसपासको जमिन विभिन्न ठाउँमा चिराचिरा परेको र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार