भारतले पछिल्लो समय आफ्नो परमाणु हतियारको भण्डार बढाउँदै लगेको अमेरिकी संस्था फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) को नयाँ अनुमानले देखाएको छ ।
एफएएसका अनुसार भारतसँग अहिले करिब १९० वटा असेम्बल्ड परमाणु हतियार रहेको अनुमान छ । अघिल्लो अनुमानको तुलनामा यो झन्डै ३० थान धेरै हो ।
एफएएसका अनुसार भारतसँग रहेका १९० मध्ये १६० भन्दा बढी परमाणु हतियार हाल सक्रिय रहेका डेलिभरी सिस्टमसँग जोडिएका छन् । बाँकी हतियार भने भविष्यमा सञ्चालनमा आउने मिसाइल तथा अन्य प्रणालीका लागि तयार अवस्थामा राखिएको अनुमान गरिएको छ ।
परमाणु शक्ति सम्पन्न देशहरूले आफ्नो वास्तविक परमाणु हतियारको संख्या सार्वजनिक नगर्ने भएकाले एफएएसको तथ्यांक अनुमानमा आधारित हुन्छ । भारतले पनि आफ्नो परमाणु हतियारको कुल संख्या आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।
एफएएसले खुला स्रोतका सूचना, स्याटेलाइट तस्वीर तथा अन्य सार्वजनिक सामग्रीको विश्लेषणका आधारमा यस्तो अनुमान तयार गर्ने गरेको छ । रिपोर्टअनुसार भारतले हाल सञ्चालनमा रहेका प्रक्षेपण प्रणालीका लागि आवश्यकभन्दा बढी परमाणु हतियार उत्पादन गरेको देखिन्छ ।
यी अतिरिक्त हतियार भविष्यमा सञ्चालनमा आउने नयाँ मिसाइल प्रणालीका लागि राखिएको हुन सक्ने अनुमान गरिएको छ । भारतले अग्नि–प्राइम तथा समुद्रबाट प्रक्षेपण गर्न सकिने के–४ जस्ता मिसाइल प्रणाली विकास तथा विस्तार गरिरहेको छ ।
विशेषज्ञहरूका अनुसार नयाँ डेलिभरी सिस्टम सञ्चालनमा आउनुअघि नै त्यसका लागि आवश्यक हतियार तयार गर्नु परमाणु शक्ति सम्पन्न देशहरूमा देखिने सामान्य अभ्यास हो । यसले नयाँ प्रणाली सेवा प्रवेश गरेपछि त्यससँग जोडिने परमाणु हतियार तत्काल उपलब्ध गराउन सहज बनाउँछ ।
यथावत् छ ‘नो फर्स्ट युज’ नीति
परमाणु हतियारको भण्डार बढाउँदै लगे पनि भारतले आफ्नो ‘नो फर्स्ट युज’ (पहिले परमाणु हतियार प्रयोग नगर्ने) नीतिमा परिवर्तन गरेको छैन । भारतको घोषित नीतिअनुसार उसले आफूमाथि परमाणु हमला भएमा मात्र परमाणु हतियार प्रयोग गर्ने बताउँदै आएको छ ।
यसैगरी, भारतले सन् १९९८ मा गरेको परमाणु परीक्षणपछि नयाँ परमाणु परीक्षण नगर्ने स्वघोषित रोकलाई पनि कायम राखेको छ । एफएएसको अनुमानमा परमाणु हतियारको संख्या बढिरहेको देखिए पनि भारतको घोषित परमाणु नीतिमा भने ठूलो परिवर्तन देखिएको छैन ।
भारतले आफ्नो परमाणु रणनीतिको आधार ‘विश्वसनीय न्यूनतम प्रतिरोधक क्षमता’लाई मान्दै आएको छ । यसको अर्थ सम्भावित परमाणु आक्रमणलाई रोक्न पर्याप्त र विश्वसनीय क्षमता कायम राख्नु हो ।
भारतको परमाणु क्षमतामा स्थल, समुद्र र हवाई तीनै माध्यमबाट प्रक्षेपण गर्न सकिने प्रणाली विकास गर्ने प्रयास भइरहेको छ । स्थलमा आधारित अग्नि शृंखलाका मिसाइलसँगै समुद्रबाट प्रक्षेपण गर्न सकिने के–४ जस्ता प्रणालीले भारतको परमाणु प्रतिरोधक क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
ारतको परमाणु क्षमतामा भइरहेको विस्तारले दक्षिण एसियाको सुरक्षा समीकरणमा पनि प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ । भारत र पाकिस्तान दुवै परमाणु शक्ति सम्पन्न मुलुक भएकाले दुई देशबीचको परमाणु सन्तुलन लामो समयदेखि क्षेत्रीय सुरक्षाको महत्त्वपूर्ण विषय रहँदै आएको छ ।
