२०८३ भदौ २७ , शनिबार 12, September 2026, Saturday

बाँकेमा १९३ जना नयाँ कुष्ठरोगी फेला

बाँके जिल्लामा गत आर्थिक वर्ष २०८२–०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् ।

तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए । उनका अनुसार पहिचान भएकामध्ये ६२ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पत्ता लागेको हो ।

बाँके, बर्दिया र अन्य पहाडी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आएका बिरामीमा उक्त रोगका कीटाणु देखिएको थियो । ‘बाँके जिल्लामा कुष्ठरोग प्रकोप दर घटेको छैन, प्रत्येक वर्ष नयाँ बिरामी फेला पर्ने दर बढ्दै गएको छ,’ अस्पताल प्रमुख थारुले भने, ‘लुम्बिनी प्रदेशमै बाँके उच्च जोखिममा रहेको छ ।’

साइनिङ अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायत गतिविधि गर्दै आएको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा १७४ र २०८०–०८१ मा १४६ नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले समाजमा कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको बताउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार