२०८३ भदौ २७ , शनिबार 12, September 2026, Saturday

शव पहिचानमा ‘फेस ट्याप’ प्रविधि प्रयोगमा

भदौ १० गते भोटेकोशी हिमबाढीपछि फेला परेका शव पहिचानका लागि नेपाल प्रहरी आफैँले बनाएको ‘फेस ट्याप’ एआई प्रविधि प्रयोगमा ल्याइएको छ । प्रहरी मुख्यालयमा रहेको प्राविधिक टिम ‘एआई सेल’ले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो ।

‘फेस ट्याप’ सफ्टवेयरमा पहिचान खुल्न नसकेको शवको मुहारको फोटो राखिन्छ र परिवारका सदस्यबाट प्राप्त हराएका व्यक्तिको फोटो राखेर उक्त शव कुनसँग मेल खान्छ भनेर प्रविधिबाट पहिचानको प्रयास गरिन्छ । जुन प्रविधिले क्षतविक्षत चिन्न कठिन शवको मुहारको तस्वीर र पहिले खिचिएको व्यक्तिको तस्वीरलाई एआई गणितीय प्रविधिबाट तुलना एवं विश्लेषण गर्ने काम गर्छ ।

यो प्रविधिबाट कम्तीमा ३५ प्रतिशतसम्म रूपाकृति मिलेमा प्रहरीले परिवारका सदस्यलाई भौतिक रूपमा शव देखाउने तथा डिएनए पहिचानको प्रक्रिया अगाडि बढाउने गरेको छ । प्रहरीको एआई सेलले हालसम्म एक हजार ३६२ पहिचान नखुलेका शवको आँकडा लिएको छ । जसमध्ये यो सफ्टवेयरले ५० देखि ६० वटा शवको पहिचानको सम्भाव्यता दिएको छ ।

सिसिटिभीबाट सहरका भिडभाडमा शंकास्पद व्यक्ति तथा फरार प्रतिवादी पहिचानका लागि आन्तरिक रूपमा विकास गरिएको ‘प्रोटोटाइप’लाई आठ जना प्रहरी आइटी टिमले गत असारदेखि विकास गरेका थिए । बाढीले बगाएर अनुहार कुरूप पारेका शवको पहिचानमा प्रहरीको एआई प्रविधि सहयोगी भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘मृतकको अनुहारको तीन साइडबाट फोटो खिचेर यो सफ्टवेयरमा हालिन्छ । हराएका व्यक्तिको फोटो उनीहरूका आफन्तसँग लिएर सफ्टवेयरमा हालिन्छ, शवको तस्वीर र पहिले खिचिएको तस्वीरमा कति प्रतिशत मेल खान्छ, सोही आधारमा पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अघि बढाइन्छ ।’

यो प्रविधिलाई संयुक्त राष्ट्रसङ्घले पनि परिभाषित गरेको र इन्टरपोलले पनि मान्यता दिएकाले हालको अवस्थामा प्रयोगमा ल्याइएको प्रहरीको भनाइ छ । बाढीपछि सुरुको अवस्थामा भेटिएका शवको पहिचान सहजताका लागि प्रहरीले तीन सय बढी शवबाट औँठाछापसमेत लिएको छ । मृतक स्वदेशी तथा विदेशी दुवै भएकाले उनीहरूको औँठाछापको रेकर्ड रहेको कार्यालयहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

विदेशीको औँठाछाप रहने अध्यागमन, स्वदेशीको हकमा सवारी लाइसेन्स लिएको हुनसक्ने भएकाले यातायात व्यवस्था कार्यालय तथा राष्ट्रिय परिचयपत्र दिने निकाय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट औँठाछाप भिडाउन ‘डेटा’ प्राप्तिको पहल भइरहेको जानकारी दिए । यस्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अग्रसरतामा शवको पहिचानका लागि डिएनए परीक्षण उपकरणसहित विभिन्न देशका विज्ञ आएर नेपाल प्रहरीका विज्ञसहित खटिएका छन् ।

प्रवक्ता काफ्ले भने, ‘भोटेकोशी बाढीको महाविपत्पछि डिएनए सङ्कलन र पहिचान गर्नुपर्ने परिमाण धेरै भएपछि प्रहरी महानिरीक्षकको पहलमा चीन, भारत, कोरिया, सिङ्गापुर लगायतका देशबाट डिएनए परीक्षण गर्ने उपकरणसहित विज्ञहरू आउनुभएको छ । उहाँहरू सहित नेपाल प्रहरीका विज्ञ कर्मचारी बिदासमेत नलिई डिएनए सङ्कलन र परीक्षणमा खटिइरहनुभएको छ ।’

घटनामा स्वेदेशी र विदेशी परेको, घटनास्थलभन्दा धेरै टाढासम्म शव पुग्दा बाढीले त्यसको रूपरङ नै परिवर्तन गर्दा भेटिएका शव पहिचानमा चुनौती थपिएको छ । प्रहरीले विकास गरेको यो प्रविधिले शव पहिचानमा केही सहयोग पुगेको हो ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार