२०८३ भदौ २७ , शनिबार 12, September 2026, Saturday

हेरेरै चिन्न सकिन्छ एचआइभी सङ्क्रमित !

एचआइभी अर्थात् ह्युमन इम्युनोडेफिशियन्सी भाइरसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा असर गर्छ । समयमै परीक्षण गरेर उपचार सुरु गरेमा एचआइभीसँग बाँचिरहेका व्यक्तिले सामान्य र लामो जीवन बिताउन सक्छन् । तर एचआइभीबारे समाजमा अझै धेरै भ्रम छन् । त्यसमध्ये एउटा हो, एचआइभी सङ्क्रमित व्यक्तिलाई हेरेरै पहिचान गर्न सकिन्छ ।

एम्स नयाँ दिल्लीका मेडिसिन विभागका प्रोफेसर डा.नीरज निश्चलका अनुसार यो धारणा मित्था मात्रै हो । नियमित उपचार गराइरहेका छन् भने एचआइभी भएका अधिकांश व्यक्ति सामान्य र स्वस्थ देखिन सक्छन् । त्यसैले कसैको अनुहार, शरीर वा बाहिरी स्वरूप हेरेर मात्र उसलाई एचआइभी भए–नभएको निष्कर्ष निकाल्न सकिँदैन । एचआइभी संक्रमण पुष्टि गर्ने भरपर्दो माध्यम एचआइभी परीक्षण नै हो ।

कस्ता हुन्छन् एचआइभीका लक्षण ?

विश्व स्वास्थ्य संगठनका अनुसार एचआइभी संक्रमणको सुरुवाती चरणमा केही व्यक्तिमा ज्वरो, टाउको दुख्ने, छालामा दाना आउने र घाँटी दुख्ने जस्ता लक्षण देखिन सक्छन् । तर कतिपयमा कुनै स्पष्ट लक्षण नदेखिन पनि सक्छ । संक्रमण बढ्दै जाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । त्यसपछि लिम्फ नोड्स सुन्निने, तौल घट्ने, लामो समयसम्म ज्वरो आउने, झाडापखाला तथा खोकीजस्ता समस्या देखिन सक्छन् ।

तर समयमै उपचार नगरिएमा एचआइभीले गम्भीर संक्रमण तथा केही प्रकारका क्यान्सरसहित विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । एचआइभीको परीक्षण गोप्य रूपमा गर्न सकिन्छ । संक्रमण पुष्टि भएमा चिकित्सकको सल्लाह अनुसार नियमित एन्टिरिट्रोभाइरल उपचार गराउनुपर्छ । उपचारले भाइरसलाई नियन्त्रणमा राख्न र प्रतिरक्षा प्रणालीलाई जोगाउन मद्दत गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार