हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको छ ।
साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । जसको प्रभावले मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
