कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० खड्खदे नजिक भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर एक जना किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा १५ वर्षीया सृष्टि सुनार रहेकी छन् । उनी भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । शुक्लाफाँटा नगरपालिका–३ को पिपलाडीमा सुनबरा नदीको किनारमा अन्दाजी ६५ वर्षीया सिठ्ठु खुना मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाका अनुसार सोमबार बिहान घरदेखि निस्किएकी खुना दिउँसो नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । उनी शुक्लाफाँट नगरपालिका–१० को मुक्ति टोल बस्ने गरेकी थिइन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
