नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा यही अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजित १४औँ एपीपीयू कंग्रेसमार्फत् हुलाक सेवा विभागलाई उक्त सम्मान प्रदान गरिएको महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिइन् ।
सरकारी कुरियर सेवाका रुपमा दुर्गम क्षेत्रमा समेत सेवा विस्तारका लागि नेपाल हुलाकले गरेको पहलको कदर गर्दै ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा विशेष सम्मान प्रदान गरिएको हो । शासकीय सुधारका १०० कार्यसूचीमार्फत् सरकारले हुलाक सेवालाई परम्परागत हुलाक सेवाबाट सरकारी कुरियर सेवातर्फ रूपान्तरण गर्ने नीति लिएसँगै हुलाकले महत्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोसम्म पुर्याउने गरी सेवा विस्तार गरिरहेको छ ।
राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी रिपोर्टलगायत कागजात नागरिकको घरमै पुर्याउने कामलाई अवार्डका लागि महत्वपूर्ण आधार मानिएको विभागका महानिर्देशक पङ्गेनीले जानकारी दिइन् । चौधौँ एपीपीयू कंग्रेसमा महानिर्देशक पङ्गेनीको नेतृत्वमा नेपालबाट तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
नेपाली प्रतिनिधिमण्डलले विभिन्न सत्रहरुमा नेपालको तर्फबाट सहभागी भई आगामी दिनको हुलाक प्रणालीको अवस्था यसको आधुनिकीकरण, हालसम्म भएका काम र सरकारका प्राथमिकताबारे जानकारी गराएको थियो । हुलाक सेवा विभागका महानिर्देशक पङ्गेनीले नेपालको कठिन भौगोलिक अवस्थाका कारण हुलाक सेवा सञ्चालनमा विभिन्न चुनौती रहेको उल्लेख गर्दै सडक तथा सञ्चार पूर्वाधार कमजोर भएका दुर्गम क्षेत्रमा समेत भरपर्दो हुलाक सेवा पुर्याउन पूर्वाधार निर्माणसहित सुधारका कामहरु भइरहेको बताए ।
सरकारी सेवा नागरिकको घरसम्म पुर्याउने र प्रत्येक सेवा सरल, छिटो तथा भरपर्दो बनाउने उद्देश्यसहित हुलाकको भूमिका विस्तार भइरहेको उनको भनाइ छ । त्यस्तै, एपीपीयूअन्तर्गत सीमापार विद्युतीय व्यापार र क्षेत्रीय हुलाक ढुवानी सञ्जाल विस्तारका विषयमा पनि नेपालले धारणा राखेको थियो । नेपालका स्थानीय तथा मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन हुलाक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने बारे एपीपीयू कंग्रेसमा आवाज उठाइएको हो ।
विशेषगरी साना उद्यमी, किसान तथा ग्रामीण समुदायका उत्पादनलाई बजारसँग जोड्न हुलाकले ढुवानीको सेतुका रूपमा काम गर्न सक्ने र क्षेत्रीय विद्युतीय व्यापार तथा हुलाक ढुवानी मार्गमार्फत नेपालका साना उत्पादकलाई एसिया प्रशान्त क्षेत्र हुँदै विश्व बजारसम्म पुर्याउन सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको विषय नेपालले महत्वका साथ उठाएको महानिर्देशक पङ्गेनीले बताइन् । कंग्रेसको पूर्ण बैठकमा नेपाललाई विशेष समय उपलब्ध गराइएको थियो ।
सो अवसरमा महानिर्देशक भट्टराई पङ्गेनीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे समेत जानकारी गराएका थिए । उनले विपद्का समयमा सडक, पुल र दूरसञ्चार सेवा अवरुद्ध हुँदा हुलाक तथा सञ्चार सञ्जालको महत्व अझ बढ्ने बताए । विपद्का समयमा सूचना, राहत सामग्री, औषधि तथा आवश्यक सरकारी सेवा नागरिकसम्म पुर्याउन हुलाकको पहुँच महत्वपूर्ण हुने उनको भनाइ छ । एपीपीयू कंग्रेसमार्फत् नेपालले आधुनिक, भरपर्दो, समावेशी र नागरिककेन्द्रित हुलाक प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पनि औँल्याएको छ ।
प्रविधि हस्तान्तरण, कर्मचारीको क्षमता विकास, डिजिटल प्रणाली, विद्युतीय व्यापार तथा वातावरणमैत्री प्रविधि र विपद् प्रतिरोधी हुलाक पूर्वाधार निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग नेपालले आग्रह गरेको छ । चौधौँ एपीपीयू कंग्रेसमा एसिया प्रशान्त क्षेत्रका ३२ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी भएका थिए । कंग्रेसमा क्षेत्रीय हुलाक सेवा आधुनिकीकरण, डिजिटल रूपान्तरण, सीमापार व्यापार, हुलाक ढुवानी तथा सदस्य राष्ट्रबिच सहकार्यका विषयमा छलफल भएको थियो ।
