नेपाल–भारत सीमा नाकास्थित बाँकेको नेपालगन्जस्थित नमुनाह नाकाबाट गत आर्थिक वर्ष २०८२–०८३ मा असुरक्षित रुपमा जोखिमपूर्ण यात्रा गरिरहेका ४६४ जना नेपाली नागरिकलाई उद्धार गरिएको छ ।
मानब बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगन्जले गत आर्थिक वर्षमा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका ४६४ जना नेपाली नागरिकलाई सीमा नाकाबाट उद्धार गरि पारिवारिक पुनर्मिलन गराइएको संस्थाका संयोजक केशव कोइरालाले जानकारी दिए ।
उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक परामर्शपश्चात् सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको संयोजक कोइरालाले बताए । आर्थिक प्रलोभन, चेतनाको कमी, घरायसी समस्या र प्रविधिको असन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ्दो रहेको उनको भनाइ छ ।
‘हामीले नाकामा कडाइ र भारतबाट उद्धारको प्रयास गरिरहेका छौँ, तर खोजतलासका लागि आउने निवेदनको चापले समुदायस्तरमै व्यापक सचेतना र सरकारी तहबाट रोजगार तथा सुरक्षाको ठोस नीति आवश्यक छ भन्ने देखाउँछ,’ संयोजक कोइरालाले भने ।
खुला सीमा, विपन्नता र चेतनाको अभावका बिच गैरसरकारी संस्था र प्रहरी प्रशासनको निगरानीले धेरैको जीवन जोगिए पनि हराइरहेका सयौँ नागरिकको खोजी र पुनःस्थापना अझै चुनौतीको रूपमा रहेको उनको भनाइ छ ।
उनका अनुसार सीमा नाकाको सतर्कताका बाबजुद विभिन्न प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र गलत सूचनाका कारण भारत पुर्याएर श्रम तथा यौन शोषणमा परेका १० जनालाई यसै अवधिमा उद्धार गरी स्वदेश फर्काइएको छ ।
माइती नेपालले भारतीय प्रहरी, दूतावास र स्थानीय गैरसरकारी संस्थाहरूसँगको समन्वयमा भारतका विभिन्न सहर र कोठीहरूबाट उनीहरूको उद्धार गरेको संयोजक कोइरालाले बताए ।
हराएका आफन्तको खोजतलास र उद्धारका लागि माइती नेपाल नेपालगन्जको कार्यालयमा गत आर्थिक वर्षमा कुल एक हजार १८ निवेदन परेकोमा ५६८ जना फेला परेका छन् भने अझै ४५० जनाको स्थिति अज्ञात रहेको कोइरालाले जानकारी दिए ।
उनका अनुसार मानव बेचबिखनमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन संस्थाले निरन्तर कानुनी सहायता प्रदान गर्दै आएको छ । गत वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धका तीन मुद्दामा पीडित र प्रभावितहरूलाई माइती नेपालले प्रत्यक्ष कानुनी सहायता उपलब्ध गराएको छ ।
