गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो र पहिरोपछिको बाढीका कारण चीनतर्फ हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ । भदौ १० गते बिहान तीव्र गतिमा आएको पहिरोले चीन–नेपाल सीमास्थित दक्षिण पश्चिम चीनको सिचाङ स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहमा भयंकर ठूलो क्षति पुर्याएको थियो ।
चीनतर्फ घटनामा हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन् । पहिरोपछि चिनियाँ उद्धार टोलीले तत्काल खोज तथा उद्धार अभियान सुरू गरेको थियो । शनिबार साँझ ६ बजेसम्म चीनले उद्धार कार्यमा दुई हजार ५०० भन्दा बढी उद्धारकर्मी र ५०० भन्दा बढी सवारीसाधन परिचालन गरेको छ ।
उद्धारका क्रममा ड्रोनमार्फत एक हजारभन्दा बढी उडान गरिएको छ भने ५.४३ टन राहत सामग्री हवाईमार्फत प्रभावित क्षेत्रमा पुर्याइएको चिनियाँ अधिकारीहरूले बताएका छन् । गहिरो खोजी अभियान जारी रहेकै क्रममा दुई जनालाई जीवित उद्धार गरिएको पनि जनाइएको छ । चिनियाँ अधिकारीहरूले बेपत्तामध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेको जनाएका छन् ।
चिरोङ बन्दरगाह पहिरोले क्षतिग्रस्त भएपछि त्यहाँ व्यापार तथा रोजगारीका लागि पुगेका धेरै नेपाली नागरिकसमेत आवतजावत गर्न नपाएर अलपत्र परेका छन् । स्थानीय अधिकारीहरूले केरुङमा रहेका एक हजार ७२० नेपाली सीमा बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराएको बताएका छन् ।
यसैबीच, चीनले विपद् सूचना आदानप्रदान संयन्त्रमार्फत नेपाललाई दैनिक मौसम, जलविज्ञान तथा हिमनदी सम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको छ । चीनले नेपालमा उद्धार तथा राहत कार्यका लागि सुरुङ उद्धार र डीएनए विज्ञसहित आवश्यक आपत्कालीन सामग्रीसमेत पठाएको जनाएको छ । साथै ३२० टन बेली ब्रिजका सामग्रीलगायत अन्य राहत सामग्री नेपाललाई उपलब्ध गराइएको छ ।
