शनिबार रातिदेखिको वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ । वर्षाकै कारण विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।
बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतका स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार सडक खुलाउन आइतबार नै जेसीबीले पहिरो पन्छाउन थालिएको थियो । तर, दिउँसोबाट पुनः वर्षा सुरु भएपछि रोकिएकोमा आज बिहानबाटै सडक खोल्ने कार्य भइरहेको उनले बताए ।
वर्षापछि पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारणलाइनको विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिबार राति करिब ९ बजे जिल्लाभर विद्युत् सेवा बन्द भएको थियो ।
अवरुद्ध विद्युत् सेवा मर्मतका लागि हिजोदेखि नै प्राविधिकको टोली खटिएको कार्यालयले जनाएको छ । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत् सञ्चालनमा छ । सहायक सीडीओ लक्ष्मण पुडासैनीले अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको बताए ।
