२०८३ भदौ २३ , मंगलबार 8, September 2026, Tuesday

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

ताराई क्षेत्रतर्फ, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

साथै देशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा जारी रहनेछ भने राति कोशी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार