पश्चिम नेपालका तीनवटा प्रदेशका बिरामीको उपचार गर्ने अस्पतालको रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ । अस्पतालको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रगति प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा अस्पतालमा पाँच हजार १७२ वटा शल्यक्रिया गरिएका छन् ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ती हजार २६३, २०८१–०८२ मा तीन हजार ७८८ र २०८२–०८३ मा पाँच हजार १७२ वटा शल्यक्रिया गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नविन दर्नालले पछिल्लो आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा एक हजार ३८४ वटा बढी शल्यक्रिया गरिएको जनाउँदै शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने बाध्यता कम हुँदै गएको बताए ।
उनका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा शल्यक्रिया सेवामा ३६ दशमलव ५ प्रतिशत वृद्धि भएको हो । तीन वर्षको अवधिमा भने शल्यक्रिया सेवा करिब ५८ प्रतिशतले बढेको देखिन्छ । सो अस्पतालमा हुने शल्यक्रियालाई ठूलो, मध्यम र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको जनाउँदै अस्पतालले सबैभन्दा धेरै शल्यक्रिया ठूलो शल्यक्रिया अन्तर्गत गरिएको जनाएको छ ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा दुई हजार ४८१ वटा ठूलो शल्यक्रिया भएकोमा २०८२–०८३ मा यो संख्या बढेर तीन हजार ८९४ पुगेको छ । अर्थात् दुई वर्षमा ठूलो शल्यक्रिया मात्रै एक हजार ४१३ ले बढेको तथ्यांकले देखाउँछ । त्यस्तै, मध्यम शल्यक्रिया ३६६ बाट ४३४ र सामान्य शल्यक्रिया ४१६ बाट ८४४ पुगेको छ ।
सामान्य शल्यक्रियाको संख्या दुई वर्षमै दोब्बरभन्दा बढी भएको देखिन्छ । भेरी अस्पतालमा शल्यक्रिया कक्षको संख्या बृद्धिसंगै जनशक्ति र उपकरण समेत थप हुँदै गएकोले शल्यक्रिया सेवा बिस्तार भएको र सेवा लिनेहरु पनि बढेको अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा.डक्टप्रसाद धितालले बताए ।

