२०८३ भदौ २१ , आइतबार 6, September 2026, Sunday

जडीबुटीजन्य तेलको गुणस्तर जोगाउन बाँकेमा ‘भण्डारण केन्द्र’

बाँकेमा उत्पादन हुने जडीबुटीजन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्यसहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ । डिभिजन वन कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिका–२, कचनापुरस्थित जयदुर्गा भवानी सामुदायिक वनक्षेत्रमा आधुनिक प्रशोधित जडीबुटी तेल भण्डारण केन्द्र निर्माण गरेको हो ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा वैकल्पिक आयआर्जनका रूपमा मेन्था, लेमनग्रास र क्यामोमाइल जस्ता जडीबुटी खेती प्रवर्द्धन गरिएको छ । जयदुर्गा भवानी सामुदायिक वनक्षेत्रमा किसानले मेन्था, लेमनग्रास र क्यामोमाइलको व्यावसायिक खेती गर्दै आएका छन् ।

सबडिभिजन वन कार्यालय, शमशेरगन्जका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार प्रशोधनपछि निस्किने तेल सुरक्षित राख्ने पूर्वाधार नहुँदा गुणस्तरमा ह्रास आउने समस्या थियो । सोही समस्यालाई सम्बोधन गर्न भण्डारण केन्द्र निर्माण गरिएको हो । वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीका अनुसार यस क्षेत्रमा मात्र ७० भन्दा बढी परिवारले तेल उत्पादन हुने जडीबुटी खेती गर्दै आएका छन् ।

आधुनिक चिस्यान भण्डारण केन्द्र बनेपछि किसान उत्साहित भएको उनले बताए । पछिल्ला वर्षहरूमा सुरक्षित भण्डारण, प्रशोधन र बजारीकरणको अभावमा केही किसान जडीबुटी खेतीबाट विमुख हुँदै गएको गुनासो आएपछि वन कार्यालयले १२ लाख रुपियाँको लागतमा उक्त केन्द्र निर्माण गरेको हो ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार चर्को घाम, तापक्रमको उतारचढाव र चुहावटका कारण तेलको गुणस्तर घट्ने, रासायनिक तत्व कम हुने र तौल घट्ने समस्या थियो । गुणस्तरमा ह्रास आउँदा किसानले उचित मूल्य पाउन सकेका थिएनन् । उनले भण्डारण केन्द्र सञ्चालनमा आएपछि यो समस्या हट्ने र किसानले प्रतिस्पर्धी मूल्य पाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार