रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढी पहिरोपछि कर्णालीका विभिन्न जिल्लाबाट २४८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा हालसम्म ७८ जना सम्पर्कमा आएका छन् ।
सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका–१० पिपल नेटाका २० वर्षीय आयुष खड्काको मृत्यु भएको छ । यस्तै, हुम्लाको ताजा कोट गाउँपालिका–२ का नहकुल शर्माको पनि बाढीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । शर्मा रसुवा भन्सार कार्यालयका अधिकृत रहेको बताइएको छ ।
जुम्लाका सबैभन्दा धेरै सम्पर्कविहीन
प्रहरीको विवरण अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन् । त्यसपछि सल्यानका ५१ जना सम्पर्कविहीन रहेको विवरण छ । त्यस्तै, सुर्खेतका १५, दैलेखका पाँच, जाजरकोटका दुई, रुकुम पश्चिमका सात, कालिकोटका छ, मुगुका ११, डोल्पाका दुई र हुम्लाका छ जना अझै सम्पर्कमा नआएको प्रवक्ता राठौरले जानकारी दिए । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा १४३ जना पुरुष, २६ जना महिला र चार जना बालिका रहेका छन् ।
उद्धार र खोजी कार्य जारी
रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोमा परी सम्पर्कविहीन भएका कर्णालीवासीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले समन्वय गरिरहेको प्रहरीले जनाएको छ । विशेष गरी वैदेशिक रोजगारी, व्यापार तथा सरकारी सेवाका सिलसिलामा रसुवा लगायतका क्षेत्रमा पुगेका कर्णालीवासी प्रभावित भएको प्रहरीको विवरणले देखाएको छ । कर्णालीका जुम्ला, सल्यान, सुर्खेत, मुगु, दैलेख र हुम्लाबाट धेरै व्यक्ति सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
