२०८३ भदौ २१ , आइतबार 6, September 2026, Sunday

कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डको कृष्णभीरमा शुक्रबारदेखि सुरु गरिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरूले शनिबारसम्म ट्रयाक खोल्दै नागढुङ्गा–मुग्लिङ सडकखण्ड अस्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको रोहवरमा कृष्णभीरमा सडक खन्ने काम सुरु गरिएको हो । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार कृष्णभीरको मुग्लिङतर्फ करिब १५० मिटर र मलेखुतर्फ करिब १०० मिटर ट्रयाक खोलिसकिएको छ ।

अब करिब ५० मिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको उनले बताए । सडक खुलाउन प्राविधिक, अपरेटर, इन्जिनियर तथा अन्य कर्मचारीहरू रातिसमेत खटिएका छन् । विपद्को समयमा यात्रु तथा सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले अस्थायी रूपमा भए पनि सडक व्यवस्थित गरेर शनिबार साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य रहेको खड्काले बताए ।

उनका अनुसार अहिले जोखिमपूर्ण अवस्थामा पनि आवश्यक सावधानी अपनाउँदै सडक निर्माणको काम भइरहेको छ । उनले विपद्को समयमा राज्यलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको भन्दै सडक खुलाउन निर्माण व्यवसायीहरू अहोरात्र खटिएको बताए । सडक पूर्ण रूपमा सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन समय लाग्ने भए पनि तत्काल यातायात सहज बनाउन अस्थायी ट्रयाक निर्माण भइरहेको हो ।

सडक बन्द रहेको अवस्थामा यात्रुहरूलाई नआत्तिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न पनि निर्माण व्यवसायीहरूले आग्रह गरेका छन् । गत भदौ १० गतेदेखि आएको त्रिशूली नदीको बाढीले कृष्णभीर, परेवाभीरलगायतका विभिन्न स्थानमा सडक कटान गरी बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पश्चिम नेपालबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधन तथा यात्रुहरूले ठूलो सास्ती व्यहोर्दै आएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार