भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका एक हजार ३४४ को शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार चार हजार ८९८ जना अझै बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार फेला परेका एक हजार ३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ ।
बेपत्ता हुने चार हजार ८९८ जनामध्ये दुई हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन् । नेपाली बेपत्ताहरूमा दुई हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन् । एक हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म आठ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा सात हजार ३८७ नेपाली र एक् हजार २४४ विदेशी नागरिक रहेका छन् । विस्थापित भएका तीन हजार ६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ ।
खोज तथा उद्धार कार्यका लागि सात हजार २१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन् ।
फेला परेका शवहरूमध्ये एक हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । मृतकको पहिचानका लागि डिएनए संकलन कार्य पनि तीव्र पारिएको छ । हालसम्म एक हजार २६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल दुई हजार २३२ जनाको डिएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका एक हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ ।

