एल निनो मौसमी प्रणाली सन् २०२७ सम्म अझ सुदृढ हुनेछ । यसले आगामी वर्षसम्म जोखिम बढाउने विश्व मौसम विज्ञान संगठनले बताएको छ । संयुक्त राष्ट्रसंघीय मौसम एजेन्सीका अनुसार प्रशान्त महासागरको असाधारण रूपमा बढ्दो तापक्रमका कारण सन् २०२७ को फेब्रुअरीसम्म एल निनो निरन्तर कायम रहने सम्भावना १०० प्रतिशत रहेको पूर्वानुमानहरूले देखाएका छन् ।
कडा एल निनोले विश्वभर वर्षा र तापक्रमको ढाँचालाई उल्लेखनीय रूपमा फेरबदल गर्ने र आँधीबेहरीजस्ता चरम मौसमलाई बढावा दिन सक्ने बताइएको छ । ‘हाम्रो आँखा अगाडि नै एल निनो विशाल बनिरहेको छ । विज्ञानले शंकाको कुनै ठाउँ छाड्दैन, यो ग्रह अज्ञात जलक्षेत्रमा छ । र, पानी तातिरहेको छ,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने ।
समुद्री सतहको तापक्रममा आउने सामयिक वृद्धि हो । यो प्राकृतिक रूपमा हरेक दुईदेखि सात वर्षमा हुन्छ र १२ महिनासम्म रहन्छ, जसले ल्याटिन अमेरिकाभर भीषण वर्षा र खडेरी निम्त्याउँछ । यो वर्षको मौसमी प्रणालीले उष्ण प्रदेशीय क्षेत्रहरूमा कृषि उत्पादनहरूमा असर पारिसकेका कारण मध्य अमेरिकाको ‘ड्राइ करिडोर’मा गम्भीर खाद्य संकट सिर्जना भएको छ ।
विश्व मौसम विज्ञान संगठनले विज्ञप्ति जारी गर्दै यो मौसमी प्रणाली यो वर्षको अन्त्यतिर आफ्नो उच्चतम बिन्दुमा पुग्ने जनाएको छ । विश्व मौसम विज्ञान संगठनकी महासचिव सेलेस्टे साउलोले यसको तयारीका लागि पूर्वतयारी र पूर्वसूचना प्रयासहरूलाई तीव्र पारिँदै लगिएको बताएकी छन् ।
‘विपद् व्यवस्थापन र कृषि, स्वास्थ्य, ऊर्जा र जलस्रोतजस्ता जलवायु–संवेदनशील क्षेत्रहरूलाई सहयोग पुर्याउन आवश्यक जलवायु गुप्तचर र अन्तर्दृष्टि प्रदान गर्न विश्व मौसम विज्ञान संगठन संयुक्त राष्ट्रसंघ र मानवीय प्रणालीका साझेदारहरूसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ,’ उनले भनिन् ।
