२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

सुस्ताको ‘सीमा चिह्न’ सिमलको रुख बाढीले ढाल्यो

नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नेपाल–भारत सीमा छुट्याउन सांकेतिक रूपमा प्रयोग हुँदै आएको सिमलको रुख बगाएको छ । बुधबार राति आएको बाढीले नेपाल–भारत सीमा छुट्याउने सांकेतिक चिह्नका रूपमा रहेको सिमलको रुख बगाएर लगेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए ।

नारायणी नदीपारि रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा नेपाल र भारतबीच सीमा विवाद हुँदै आएको छ । विवाद समाधानका लागि नेपाल र भारतका जिल्लास्तरका सुरक्षा अधिकारी तथा स्थानीयको सहभागितामा २०६५ सालमा सिमलको रुखलाई सांकेतिक सीमा चिह्नका रूपमा मान्दै आइएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले बताए ।

तर, सीमा छुट्याउने सांकेतिक आधारका रूपमा रहेको रुख नै बाढीले बगाएपछि सुस्ताको सीमा सुरक्षाको विषय थप जटिल बन्न सक्ने स्थानीयको चिन्ता छ । सीमा स्तम्भसमेत नभएको क्षेत्रमा सांकेतिक सीमा चिह्नसमेत नरहेपछि स्थानीयस्तरमा सीमा विवाद उत्पन्न हुन सक्ने भन्दै सुस्ताबासीले तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

सुस्ता गाउँलाई नारायणी नदीको बाढीबाट जोगाउन सरकारले १३२ मिटर तटबन्ध निर्माणको काम अघि बढाएको थियो । तर, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तटबन्ध निर्माणमा अवरोध गरेपछि काम रोकिएको स्थानीयको भनाइ छ । तटबन्ध निर्माण रोकिएको सोही क्षेत्रबाट बाढी पसेको हो । सुस्ता क्षेत्रमा हाल २२० घरधुरीका एक हजार ४५७ जनाको बसोबास रहेको छ । बाढीले सांकेतिक सीमा चिह्न नै बगाएपछि सुस्ताबासीमा बाढीको जोखिमसँगै सीमा सुरक्षालाई लिएरसमेत चिन्ता थपिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार