बाँकेमा ६ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । आगामी भदौ ३० गतेदेखि जिल्लाका आठवटै पालिकामा खोप अभियान सञ्चालन गरिने भएको हो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले पहिलो चरणमा विद्यालयबाट खोप अभियान सुरु गरिने बताइन् ।
उनका अनुसार कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । विद्यालयमा खोप अभियान सकिएपछि समुदायमा रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने प्रमुख पौडेलले बताइन् । खोप अभियान प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थासँग समन्वय गरेर तयारी भइरहेको उनले जनाइन् ।
बाँकेका आठवटै पालिकामा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी खोप लगाइन्छ । एचपीभी भाइरसका केही प्रकारले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने भएकाले किशोरी अवस्थामै खोप लगाउँदा जोखिम कम गर्न सकिने स्वास्थ्यकर्मीहरुको बताएको भनाइ छ ।

