बझाङको खप्तडछान्ना गाउँपालिका–६ खालीगडाका किसानका बगैँचा यतिबेला स्याउले लटरम्म छन् । तर उत्पादन राम्रो भए पनि बजार र ढुवानीको समस्या भएपछि किसान चिन्तित छन् । बर्खाको समयमा स्याउ पाक्ने र त्यही बेला ग्रामीण सडक अवरुद्ध हुने भएकाले बजारसम्म पुर्याउन कठिन हुने किसानको गुनासो छ ।
स्थानीय स्याउ बजारसम्म लैजाँदा ढुवानी खर्च नै उत्पादनको मूल्यभन्दा बढी पर्ने अवस्था रहेको उनीहरू बताउँछन् । वन्यजन्तुका कारण पनि ठूलो परिमाणमा स्याउ नोक्सान हुने गरेको छ । भारत तथा जुम्ला र मुस्ताङबाट आउने सस्तो स्याउसँग प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय किसानले बगैँचामै प्रतिकिलो करिब ८० रुपैयाँमा बिक्री गर्न खोज्दा समेत बजार नपाएको बताएका छन् ।
किसानको समस्या समाधान गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले पहिलो चरणमा १० क्विन्टल स्याउ संकलन गरी धनगढी पु¥याउने तयारी गरेको छ । ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने र बजार विस्तार गर्न सहकारीमार्फत संकलन, ग्रेडिङ, प्याकेजिङ तथा भण्डारणको व्यवस्था गर्ने योजना रहेको संस्थाले जनाएको छ ।


