भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका पर्यटक र तीर्थयात्रीको खोजी तथा उद्धार तीव्र पारिएको छ । बुधबार आएको बाढीमा परेर नेपालसहित ३६ देशका आन्तरिक र बाह्य पर्यटक सम्पर्कविहीन रहेकामा शुक्रबार १२१ पर्यटकको उद्धार गरिएको छ । यसअघि बिहीबार ३३ जना विदेशी पर्यटकको उद्धार गरिएको थियो ।
नेपाल पर्यटन बोर्डका अनुसार बाढीपछि ६२२ जना पर्यटक अझै सम्पर्कविहीन छन् । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६२२ विदेशी पर्यटकमध्ये सम्पर्कविहीन रहेकाहरूको विभिन्न माध्यममार्फत खोजी तथा उद्धार कार्य जारी रहेको जनाए ।
उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, पर्यटक प्रहरी र पर्यटन व्यवसायीको समन्वयमा तीर्थयात्रा र पदयात्राका क्रममा बाढी प्रभावित क्षेत्रबाट बेपत्ता भएकाको खोज तथा उद्धार कार्य गरिरहेका छौँ ।’
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरका अनुसार जसमध्ये शुक्रबारसम्म ६२२ जना विदेशी पर्यटक सम्पर्कविहीन रहेको र १२१ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । शुक्रबार उद्धार गरिएकामध्ये भारतका मात्रै ८५ जना छन् ।’ त्यस्तैगरी बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेको उनले जानकारी दिए ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरका अनुसार हालसम्म भारतका ९८, नेपालका १४९, अमेरिकाका ६७, युक्रेनका ६१, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, चीनका आठ, सिङ्गापुरका नौ र रसियाका सात जना बेपत्ता छन् ।
त्यसैगरी दक्षिण अफ्रिकाका छ जना, जापानका पाँच, न्युजिल्यान्डका पाँच, फ्रान्सका चार, स्पेनका दुई जना बेपत्ता छन् । बाढीमा परेर जर्मनी, स्पेन, आयरल्यान्ड, स्विडेन, सर्बिया, फिलिपिन्स, लुथियाना, इजरायल, हङ्गेरी, फिनल्यान्ड, बेलारुस लगायतका नागरिकसमेत सम्पर्कविहीन रहेका उहाँले जानकारी दिए ।
१२१ पर्यटकको हवाई उद्धार
यसअघि बुधबार ३१ जना विदेशी पर्यटकको विभिन्न स्थानबाट हवाई उद्धार गरिएको थियो । बुधबार भारतका ११ जना, दक्षिण कोरियाका चार, अमेरिकाका दुई, रसियाका दुई, इटलीका दुई, बुल्गेरियाका एक र स्विट्जरल्यान्डका एक गरी देशको पहिचान खुल्न नसकेका थप आठ जनाको हवाई उद्धार गरिएको बोर्डले जनाएको छ ।

