२०८३ भदौ १२ , शुक्रबार 28, August 2026, Friday

नेपालका १०० भन्दा बढी हिमताल फुट्ने जोखिममा

नेपालको इम्जा हिमताल । तस्वीर सौजन्य : डा. नितेश खड्का

हिमाली मुलुक भनेर चिनिने नेपालमा कम्तिमा १०० भन्दा बढी हिमताल फुट्ने खतरा रहेको विज्ञहरुले बताएका छन् ।म्यानमारदेखि अफगास्तिानसम्मका हिन्दकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी जोखिममा रहेका तालको संख्या नेपाल र तिब्बतमा रहेको बिभिन्न अध्ययनले देखाएको छ । चाइनिज एकेडेकी अफ साइन्सेजबाट हिमतालको विषयमा विद्यावारिधी गरेका वैज्ञानिक डा.नितेश खड्काका अनुसार हिमतालको उच्च जोखिम नेपाल र तिब्बती क्षेत्रमा बढी छ ।

भारत लगायतका अन्य मुलुकमा हिन्दकुश हिमालय क्षेत्र फैलिएको भए पनि ती मुलुकमा जोखिमयुक्त हिमताल कम रहेका छन् । डा.खड्काले भने, ‘हिन्दकुश हिमालय क्षेत्रमा रहेका तालको अवस्थाबारे सन् २०२० तिर अध्ययन भएको थियो । त्यसपछि खासै अध्ययन भएका छैन । बढ्दो तापक्रमले दैनिकजसो हिउँ पग्लिने, हिमताल बन्नेक्रम बृद्धि भएसँगै हिमतालको जोखिम बढिरहेको छ ।’ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले हिमताल सम्बन्धी अध्ययन २०२० मा प्रकाशित गरेको थियो ।

सो प्रतिवेदनमा नेपालको हिमाली क्षेत्रमा रहेका २१ वटा ताल फुट्ने जोखिम जहिले पनि रहेको कुरा उल्लेख गरिएको थियो । डा.खड्काले यो पुरानो अध्ययनले २१ वटा ताल फुट्ने जोखिम भएको देखाए पनि पछिल्ला अवधिमा कम्तिमा एक सयभन्दा बढी हिमताल जोखिमयुक्त रहेका दावी गरे । उनले भने, ‘कुनै ताल उच्च जोखिम, मध्यम जोखिम र जोखिममा रहेका हुन्छन् । यिनको अध्ययन गरेर जोखिम न्यूनीकरणको काम समयमा गर्नुपर्छ ।’

उनले भने, ‘नेपालतर्फ दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्याङ्क सार्वजनिक भएको छ । हरेक हिमताल उत्तिकै जोखिमयुक्त मानिन्छन् । हिउँ पहिरो गएर बगाएर ल्याएको माटो, ढुङ्गा, गेग्रानको सतहमा बन्ने तालको दीर्घजीवन हुन सक्दैन । जतिबेला पनि फुट्ने खतरा रहिरहन्छ । त्यसैले २१ वटा ताल मात्र फुट्ने खतरा छ भन्नु पछिल्लो अवस्थामा गलत हुन जान्छ । हिमतालका विषयमा धेरै वैज्ञानिक अध्ययन प्रतिवेदन निस्केका छन् ।’

उनका अनुसार ती सबै वैज्ञानिक अध्ययन पेपरको विश्लेष गरी यो कुरामा हामीले थप अध्ययन गर्नुपर्छ । इसिमोडको अध्ययनमा संलग्न बरिष्ठ जलवायु विज्ञ तथा हिमतालका अध्येता डा.अरुणभक्त श्रेष्ठको भनाइमा हिमतालको जोखिम जहिले पनि जतिबेला पनि हुने भएकाले यसको जोखिम न्यूनीकरण गरिहाल्नु पर्ने र हुन सक्ने क्षति कम गर्न पूर्वसूचना प्रणाली विकास र विस्तार गर्नुपर्ने हुन्छ ।

यसअघि नेपालले जोखिमको तह निकै उच्च रहेका इम्जा र च्छो रोल्पाको जोखिम न्यूनीकरण गर्ने काम भएजस्तै अरु तालहरुको पनि जोखिम न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाले इम्जा हिमतालको जल सतह घटाउने काम गरेको थियो । सो हिमतालको पानी निकास गर्न पक्की संरचना निर्माण गरी तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली विकास गरिएको छ । इम्जा र च्छो रोल्पा हिमतालजस्तै चरणबद्ध रुपमा सबै तालहरुको जोखिम न्यूनीकरण गर्नुपर्ने डा.श्रेष्ठको भनाइ छ ।

सन् २०२० को अध्ययन प्रतिवेदनले नेपाल बाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमताललाई जोखिमका आधारमा खतराको सूचीमा राखेको छ । डा.खड्काका अनुसार नेपालमा सबैभन्दा बढी कोसी जलाधार क्षेत्रमा रहेका छन् । त्यसमा पनि दुधकोशी जलाधार क्षेत्रमा बढी हिमतालहरु जोखिममा छन् । इसिमोडको अध्ययनले तिब्बत क्षेत्रमा २५ र भारतमा एउटा हिमताल खतरामा रहेको देखाएको छ । यद्यपि डा.खड्काका भनाइमा पछिल्लो अवस्थामा तिब्बततर्फ पनि जोखिमयुक्त तालहरुको संख्या निकै बढी छ ।

नेपालका अधिकांश ठुला हिमनदीका मुहान तिब्बत भएकाले तिब्बती क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालको प्रत्यक्ष असर नेपालमा पनि पर्ने भएकाले नेपाल झन खतराको अवस्थामा रहेको हिमताल विज्ञ डा.खड्काले बताए । उनले भने, ‘पूर्वको अरुण, दुधकोशी, तामाकोशी, भोटेकोशी, बुढी गण्डकी, मस्र्याङ्दी, हुम्ला कर्णालीको पानीको मुहान तिब्बत भएकाले यी नदी जलाधार क्षेत्रमा तिब्बतमा जोखिममा रहेका हिमतालको प्रत्यक्ष असर पर्न जान्छ । तिब्बतमा हिमताल फुट्दा यी नदी जलाधार क्षेत्रमा भोटेकोशी बाढीले भएकोजस्तै क्षति हुन जान्छ ।’

हिमतालको अर्का अध्येता प्राडा. रिजनभक्त श्रेष्ठले हिमतालको जोखिमलाई अत्यन्तै गम्भीर र सम्वेदनशील ढङ्गले हेरिनु पर्ने बताए । उनले भने, ‘विश्वव्यापी रुपमा बढ्दैगएको तापक्रमले हिउँ पग्लिने, हिमताल बन्नेक्रम जारी छ । त्यसैले नेपाल यो विषयमा निकै जोखिमको अवस्था सधैँ रहन्छ ।’ हिमताल फुट्नुअघि नै जोखिम न्यूनीकरणका कामहरु गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी पूर्वसूचना प्रणालीको विकास गर्न सके तल्लो तटीय क्षेत्रमा हुने सम्भावित हानी नोक्सानी कम गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार