२०८३ भदौ ११ , बिहीबार 27, August 2026, Thursday

रसुवा बाढी : तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता

बुधबार चीनतर्फबाट भोटेकासीमा आएको बाढी पहिरोका कारण यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा देशभर करिब एक हजार सवारीसाधन अलपत्र परेका छन् भने तीर्थयात्री बोकेका दर्जनौँ गाडीहरू सम्पर्कविहीन भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि काठमाडौँबाट रिजर्भमा गएका बसहरू ठुलो संख्यामा सम्पर्कविहीन भएका हुन् ।

‘अरनिको यातायात कम्पनीमार्फत रसुवागढी सडकखण्ड हुँदै गोसाईंकुण्ड गएकामात्रै १८ देखि २० वटा यात्रुवाहक बसहरू अहिलेसम्म सम्पर्कविहीन छन्,’ अध्यक्ष सिटौलाले भने, ‘ती बसका ३ जना कर्मचारी मात्र सम्पर्कमा आएको भन्ने अपुष्ट खबर छ, बाँकी यात्रु र गाडीको अवस्था अज्ञात छ ।’

उनका अनुसार फसेका यात्रुको अवस्था बुझ्न र उद्धारका लागि बुधबार करिब २५–३० जनाको टोली घटनास्थलतर्फ पठाइएको भए पनि बाटो अवरुद्ध भएका कारण टोली बिचबाटै फर्किन बाध्य भएको थियो । गोसाईंकुण्ड गएका बसहरू मात्र होइन, अन्य गन्तव्यमा हिँडेका गाडीहरू पनि बेपत्ता भएको महासंघले जनाएको छ ।

अध्यक्ष सिटौलाका अनुसार पोखराबाट गएको एउटा गाडी बेपत्ता भएकोमा पाँच जना मात्र सम्पर्कमा आएका छन् भने अरू यात्रु हराइरहेका छन् । त्यस्तै, गोरखाबाट गएको एक गाडीका पाँच जना सम्पर्कमा आएको भनेर गृह मन्त्रालयलाई जानकारी गराइए पनि अहिले उनीहरूसँग फोन सम्पर्क टुटेको छ ।

महासंघको प्रारम्भिक तथ्यांक अनुसार बाढीका कारण करिब ३०० यात्रुवाहक बस र अन्य मालवाहक गरी ८०० देखि १००० को हाराहारीमा सवारीसाधन फसेका वा डुबेका छन् । नागढुंगा–मुग्लिन लगायतका मुख्य सडकखण्डहरू बन्द हुँदा यात्रुहरू बीच बाटोमै बिचल्लीमा परेका छन् ।

उद्धारका लागि महासंघको आपत्कालीन बैठक

यातायात क्षेत्रमा ठुलो क्षति पुगेको र सयौँ यात्रु अलपत्र परेको भन्दै महासंघले उद्धार तथा राहतमा समन्वय गर्न आज दिउँसो १२ः३० बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आपत्कालीन बैठक बोलाएको छ । बाटो बन्द हुँदा काठमाडौँ आउन नपाएका र सामाखुसी क्षेत्रबाट उद्धार गरिएका यात्रुहरू हिँडेरै आइरहेका छन् ।

‘पासाङ ल्हामु राजमार्ग र टोखा–छहरे सडकखण्डमा जहाँसम्म गाडी जान्छ, त्यहाँसम्म गएर यात्रुको उद्धार गर्न यातायात व्यवसायीहरू तयार छन्,’ सिटौलाले भने, ‘तर, गृह प्रशासनको निर्देशन र विपद् व्यवस्थापनको समन्वय बिना हामीले गाडी पठाउन मिल्दैन । सरकारले उद्धारका लागि सहजीकरण गरिदिनुपर्यो ।’ आपत्कालीन बैठकबाट यकिन तथ्यांक संकलन गर्ने र देशभरका यातायात व्यवसायी तथा मजदुरलाई उद्धारमा खटाउने निर्णय गरिने उनले जानकारी दिए ।

आफूखुसी गाडी नचलाउन महासंघको अपिल

विपद्को जोखिम उच्च रहेको भन्दै महासंघले जथाभावी गाडी नचलाउन सम्पूर्ण यातायात व्यवसायी र चालकहरूलाई अपिल गरेको छ । ‘कतिपय गाडीहरू जोखिम मोलेर आफूखुसी गन्तव्यतर्फ जान खोजिरहेका छन्, यसले थप दुर्घटना निम्त्याउन सक्छ,’ अध्यक्ष सिटौलाले आग्रह गर्दै भने, ‘विपद् प्रभावित वा सम्भावित जोखिम भएका कुनै पनि क्षेत्रमा स्थानीय प्रशासन र यातायात महासंघसँग समन्वय नगरी आफूखुसी गाडी नचलाउन म सम्पूर्ण व्यवसायी साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार