रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआइजी) अबि नारायण काफ्लेले बताए ।
रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआइजी काफ्लेले जानकारी दिए । बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् ।
ुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् ।
बाढीका कारण प्रभावित भएकाहरुलाई सुरक्षाकर्मीहरुले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
४४ सैनिक सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा एक्कासी आएको बाढीले ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
उनका अनुसार बेपत्ता सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए । नेपाल प्रहरीका पनि ३२ जना र सशस्त्र प्रहरीका पनि ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।
