इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको भदौ १० गते मनाइने जन्मजयन्तीको अवसर पारेर नेपालगन्जको एक मस्जिदमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ४०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।
नेपालगन्ज–२, घरबारी टोलस्थित मक्का मस्जिद व्यवस्थापन समितिद्वारा मस्जिद परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ४०० भन्दा बढी हिन्दु तथा मुस्लिम समुदायका बिरामीले स्वास्थ्य सेवा लिएको मस्जिद व्यवस्थापन समितिका अध्यक्ष खलिल मियाँले बताए ।
उनले शान्तिका दूतका रूपमा परिचित हजरत मोहम्मदको जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको शिविरमा हिन्दु तथा मुस्लिम समुदायका व्यक्तिले सहभागी भएर स्वास्थ्य सेवा लिँदै धार्मिक तथा सामाजिक सद्भावको उत्कृष्ट नमुना प्रस्तुत गरेको बताए ।
अध्यक्ष मियाँका अनुसार शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका हिन्दु तथा मुस्लिम समुदायका व्यक्तिले मस्जिदमै पुगेर स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधी निःशुल्क प्राप्त गरेका थिए ।
शिविरमा वरिष्ठ फिजिसियन डा.अलतबान राही, फिजिसियन डा.मोहम्मद आजम, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.सैयद सद्दाम र मेडिकल अधिकृत डा.अजहर हुसैन फारुकीले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श दिएका थिए ।
शिविरमा निःशुल्क स्वास्थ्य सेवा लिन पुगेका नेपालगन्ज–२, घरबारी टोलका रमेश गुप्ताले पहिलो पटक मस्जिदमा पुगेर स्वास्थ्य परीक्षण गराएको बताउँदै सामाजिक सद्भावका लागि यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।
सोही टोलका अर्का स्थानीय नरेश भुजुवाले पनि बिरामी भएका बेला घरदैलोमै उपचार सेवा पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । कार्यक्रममा समाजसेवी मेराज अहमद हिमालयले नागरिकलाई सेवा दिने उद्देश्यले आयोजना गरिने कार्यक्रमको संख्या बढाउनुपर्ने बताए ।
कार्यक्रम संयोजक आशिफ कुरैशीले शिविरबाट ४०० भन्दा बढी हिन्दु तथा मुस्लिम धर्मावलम्बीले स्वास्थ्य सेवा लिएको जनाउँदै स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको बताए ।
सो अवसरमा मस्जिद व्यवस्थापन समितिका उपाध्यक्ष मोहम्मद आसिफ अन्सारी, सचिव मोहम्मद साहिल अन्सारी, कोषाध्यक्ष शमसाद हुसैन शेख तथा सदस्यहरू आशिफ कुरैशी, मोहम्मद सलमान सलमानी, साबिर अली शेख, शमसाद अली र सद्दाम कुरैशी लगायतले बिरामीको उपचारमा सहजीकरण गरेका थिए ।
