एक्लै तथा निहुरिएर काम गर्ने मानिस बाघको आक्रमणको बढी जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपालको तराई भू–परिधि क्षेत्र (बाघ पाइने क्षेत्र) मा सन् २०१० देखि २०२४ सम्म भएका बाघ आक्रमणका घटनाको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, समस्याग्रस्त बाघ विषयमा विद्यावारिधि गरेका विज्ञ डा.बाबुराम लामिछाने, नेपाल प्रकृति संरक्षण कोषका पूर्व सदस्यसचिव डा.नरेश सुवेदी, वन्यजन्तु अनुसन्धानकर्ता सञ्जय कँडेल, स्विडेनका प्राध्यापक डा.म्याथ्यु लो तथा वन विज्ञान अध्ययन संस्थानका पूर्व डिन प्रा.डा.ठाकुर सिलवालले संयुक्त रूपमा गरेको अध्ययनमा मानवीय क्षतिको जोखिम मानिसको समूह, लिङ्ग, शैक्षिक अवस्था तथा आक्रमणका बेला अपनाइएको शारीरिक अवस्थासँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।
अध्ययन अनुसार बाघको आक्रमणमा पर्ने प्रमुख कारण मानिसको वनमा गर्ने नियमित जीविकोपार्जन सम्बन्धी गतिविधि हो । गत वर्ष असार २७ गते चितवनको खैरहानीस्थित कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका ७० वर्षीय पदमबहादुर रानामगर बाघको आक्रमणमा परी ज्यान गुमाउनुभएको थियो । घाँस काट्ने काम प्रायः निहुरिएर गर्नुपर्ने भएकाले जोखिम बढी हुने अध्ययनले देखाएको छ ।
‘अध्ययन अवधिमा भएका २४५ वटा बाघ आक्रमणमध्ये ५४ प्रतिशत घटना दाउरा तथा घाँस सङ्कलनका क्रममा भएका छन् । गैरकाष्ठ वन पैदावार सङ्कलनका क्रममा ११ प्रतिशत र पशु चराउने वा हेरचाह गर्ने क्रममा करिब १३ प्रतिशत घटना भएका छन्,’ अनुसन्धानकर्ता डा. लामिछानेले भने । आक्रमणको सङ्ख्या कोभिड–१९ महामारीका बेला सबैभन्दा बढी देखिएको थियो ।
रोजगारी गुम्नु, भारत तथा अन्य मुलुकबाट फर्किनेको सङ्ख्या बढ्नु तथा वनमा मानवीय गतिविधि बढ्नुजस्ता कारणले मानिस र बाघबिच जम्काभेट हुने सम्भावना बढेको अनुसन्धानकर्ताको निष्कर्ष छ । हालै अमेरिकाबाट प्रकाशित इकोलोजी एन्ड इभोल्युसन जर्नलमा प्रकाशित अध्ययन अनुसार बाघको आक्रमणमा परेकामध्ये ५७.६ प्रतिशतको मृत्यु भएको छ । अध्ययन अवधिमा २४५ जनामाथि बाघले आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो ।
अध्ययनकर्ता डा.बाबुराम लामिछानेका अनुसार बाघको आक्रमणबाट मृत्यु हुने अधिकांश व्यक्ति दाउरा, घाँस तथा अन्य वनजन्य सामग्री सङ्कलन गर्ने क्रममा वनमा झुकेर वा बसेर काम गरिरहेका थिए । ‘बाघको आक्रमणको जोखिम अहिले पनि मुख्यतः वन क्षेत्रभित्र नै केन्द्रित छ,’ उनले भने, ‘कुल घटनामध्ये ९० प्रतिशतभन्दा बढी आक्रमण वनभित्र भएका छन् । त्यसमध्ये ६९.४ प्रतिशत घटना संरक्षित क्षेत्रको मध्यवर्ती क्षेत्रमा, २४ प्रतिशत संरक्षित क्षेत्रबाहिर र ६.५ प्रतिशत मात्र राष्ट्रिय निकुञ्जभित्र भएका छन् ।’
अध्ययनले सन् २०१९ देखि २०२३ सम्म बाँके–बर्दिया क्षेत्र तथा सुदूरपश्चिमका वन क्षेत्रमा बाघको आक्रमण उल्लेख्य रूपमा बढेको देखाएको छ । बाघको आक्रमणमा पुरुष बढी पर्ने गरेका छन् । पीडितमध्ये ६५.३ प्रतिशत पुरुष रहेका छन् भने महिलामध्ये मृत्यु हुने दर ७२.९ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । अध्ययन अवधिमा प्रतिवर्ष औसत १६ वटा बाघ आक्रमणका घटना भएका छन् ।
