२०८३ भदौ ६ , शनिबार 22, August 2026, Saturday

देशभर ९८ प्रतिशत धान रोपाइँ, उत्पादन बढ्ने अनुमान

देशभर यस वर्ष धान रोपाइँ करिब ९८ प्रतिशत सम्पन्न भएको छ । कृषि विभागका अनुसार १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यो गत वर्षको तुलनामा १.९२ प्रतिशत बढी हो ।

विभागले देशभर करिब १३ लाख ७० हजार हेक्टर जमिनमा धान खेती हुने जनाएको छ । उपलब्ध क्षेत्रफलमध्ये अब करिब २८ हजार हेक्टरमा मात्रै रोपाइँ हुन बाँकी छ । प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कर्णालीमा ९८.५ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकीमा ९६.६८ प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको छ ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार मधेस लगायत केही क्षेत्रमा पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँ केही ढिला भएको थियो । पछिल्लो समय वर्षा बढेसँगै रोपाइँले गति लिएको उनले बताए ।

अधिकांश क्षेत्रमा अझै पनि धान खेतीका लागि आकाशे पानीमै निर्भर रहनुपर्ने अवस्था रहेको विभागले जनाएको छ । तर यस वर्ष मनसुन तुलनात्मक रूपमा अनुकूल रहेकाले गत वर्षभन्दा रोपाइँको अवस्था राम्रो देखिएको विभागको भनाइ छ ।

समयमै पर्याप्त पानी उपलब्ध भएमा धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने विभागको अपेक्षा छ । यद्यपि रोपाइँ सम्पन्न भएपछि पनि धानको उत्पादनका लागि वर्षाको निरन्तरता, बाढी–पहिरोबाट हुने क्षति, रोगकीरा तथा मलखादको उपलब्धता महत्वपूर्ण हुने देखिन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार