अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन् ।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (इलाम न.पा.०९, राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । वैकल्पिक बाटोको व्यवस्था नभएकाले यात्रुहरू समस्यामा परेका छन्। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक अवरुद्ध भए पनि हाल एकतर्फी रूपमा सुचारु गरिएको छ ।
बागमती प्रदेशका मुख्य सडकहरूमा जोखिम बढ्दो छ । बीपी राजमार्ग (सिन्धुली–नेपालथोक खण्ड)मा बाढीको सम्भावनाका कारण राति ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि साँझ ६ः०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारु गरिने प्रहरीले जनाएको छ ।
मकवानपुरको कान्तिलोकपथमा पनि सम्भावित बाढी र पहिरोका कारण रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत कोदारी र लिपिङ खण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ भने चारकिलो क्षेत्रमा एकतर्फी सुचारु छ । रसुवाको त्रिशूली–मैजुङ–स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ । बागलुङको कालीगण्डकी कोरिडोर भने एकतर्फी सुचारु छ । लुम्बिनी प्रदेशको रुकुम पूर्वमा मध्य पहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी कोरिडोर (जाजरकोट–डोल्पा सडक खण्ड) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । साउन २६ गतेदेखि नै यो सडक खण्डमा सवारी साधन चल्न सकेका छैनन् ।
सत्यपाटी