हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस तथा कर्णालीका भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पाँच जिल्लामा बाढीको उच्च जोखिम
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा बाढीको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका अनुसार विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका पाँच जिल्ला गोरखा, दाङ, अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीमा बाढीको उच्च जोखिम देखिएको हो ।
यी जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन सुझाइएको छ । जल तथा मौसम विज्ञान विभागकी नायब जलविज्ञ सहायक पार्वती पनेरूका अनुसार यी पाँच जिल्लाबाहेक कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही अन्य जिल्लामा पनि मध्यमस्तरको बाढी आउन सक्ने सम्भावना रहेको छ ।
विभागले ती क्षेत्रमा पनि सतर्कता अपनाउन र नदीको सतहको निरन्तर अनुगमन गर्न अनुरोध गरेको छ । उनले मङ्गलबार र बुधबारसम्मको मौसम पूर्वानुमान अनुसार देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको र यसले गर्दा साना तथा ठुला नदीमा जलस्तर बढ्न सक्ने बताए । विभागले बुधबारदेखि वर्षा कम हुने जानकारी दिएको छ ।
सत्यपाटी