२०८३ साउन ५ , मंगलबार 21, July 2026, Tuesday

देशभर मनसुन सक्रिय, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन ४ गते सोमबार

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशभर वर्षाको गतिविधि सक्रिय बनेको हो ।

महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभरको मौसम सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, देशका पहाडी भू–भागका धेरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भारी वर्षासँगै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार