२०८३ साउन ३ , आइतबार 20, July 2026, Monday

खाडीमा नयाँ संकट, मध्यपूर्वमा अब ‘पानी युद्ध’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन ३ गते आइतबार

खाडी क्षेत्रमा जारी तनावले अब नयाँ र भयानक रूप लिएको छ । अमेरिका र इरानबीचको सैन्य टकरावको निसाना अहिले समुद्रको नुनिलो पानीलाई पिउनयोग्य बनाउने प्लान्टहरू बन्न थालेका छन् । जसले खाडी क्षेत्रमा गम्भीर मानवीय संकटको खतरा निम्त्याउने भएको छ ।

इरानले शनिबार सार्वजनिक गरेको दाबी अनुसार अमेरिकी वायुसेनाले उसको होर्मोजगान प्रान्तमा भीषण हवाई आक्रमण गरेको छ । उक्त हमलामा त्यहाँस्थित बोन्जी प्लान्ट पूर्ण रूपमा ध्वस्त भएको छ । इरानी अधिकारीहरूका अनुसार यो प्लान्ट सञ्चालनभन्दा बाहिर जाँदा स्थानीय २० वटा गाउँका करिब १० हजार सर्वसाधारण नागरिक पिउने पानीबाट पूर्ण रूपमा वञ्चित भएका छन् र उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ ।

यो ‘पानी युद्ध’को राप छिमेकी मुलुक कुवेतसम्म पुगेको छ । कुवेतले इरानमाथि लगातार दोस्रो दिन आफ्नो मुख्य पानी प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ । मरूभूमिको सानो देश कुवेत आफ्नो पिउने पानीको ९० प्रतिशत आवश्यकताका लागि समुद्रको नुनिलो पानीलाई मीठो बनाउने प्रविधिमै निर्भर छ ।

कुवेत सरकारले जीवनको मुख्य आधार मानिएका यस्ता संवेदनशील प्लान्टहरूमा हुने सामान्य अवरोधले पनि देशमा नागरिकको अस्तित्वमै संकट ल्याउन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । खाद्यान्न र पानी जस्ता अत्यावश्यक आपूर्ति प्रणालीलाई युद्धको हतियार बनाइँदा यसले खाडी क्षेत्रका लाखौँ सर्वसाधारणलाई भोकमरी र काकाकुलको अवस्थामा पुर्याउने जोखिम बढेको भूराजनीतिक विश्लेषकहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार