चालु आर्थिक वर्ष २०८३–०८४ मा एक हजार ९८५ जना निजामती कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । उनीहरूले ५८ वर्षे उमेर हद तथा पदावधी पुरा भई अनिवार्य अवकास पाउने भएका हुन् । राष्ट्रिय किताबखानाका अनुसार संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत ९२ हजार ५२० जना निजामती कर्मचारीमध्ये विशिष्ट श्रेणी वा सो सरहका २० जना र सहसचिव वा सो सरहका ८७ जना कर्मचारीले चालु आर्थिक वर्षमा अनिवार्य अवकास पाउनेछन् ।
यस वर्ष अनिवार्य अवकास पाउनेमा उपसचिव वा सो सरहका २०६ जना, शाखा अधिकृत वा सो सरहका ३२० जना छन् । सहायकस्तरका कर्मचारीतर्फ ७७३ जना र श्रेणिविहीनतर्फ ५७९ जनाले चालु आर्थिक वर्ष २०८३–०८४ मा अवकास पाउने किताबखानाले जनाएको छ । राष्ट्रिय किताबखानाको कार्यसञ्चालन दिग्दर्शन, २०७२ अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ मा अनिवार्य अवकाश हुने निजामती कर्मचारीहरूको सूची तयार पारिएको हो ।
यसमा निजामती सेवाभन्दा अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन । उमेर वा सेवा अवधिको कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिना अगावै फाराम भरी आफू बहाल रहेको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (निजामती)मा अनिवार्य पठाउनुपर्नेछ । अवकाश हुने सम्बन्धित कर्मचारीहरूको अनिवार्य अवकाश सम्बन्धी सूचना किताबखानाले पनि सम्बन्धित कर्मचारी कार्यरत कार्यालयमा पठाउनेछ ।
गत आर्थिक वर्ष २०८२–०८३ मा कूल दुई हजार २११ जना निजामती कर्मचारीले अवकास पाएका थिए । गत आर्थिक वर्ष अवकास पाउनेमा १८ जना विशिष्ट श्रेणी वा सो सरहका र ६१ जना सहसचिव वा सो सरहका कर्मचारी थिए । चालु आर्थिक वर्षमा अवकास पाउने विशिष्ट श्रेणी वा सो सरहका कर्मचारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा कार्यरत सचिव किरणराज शर्मा छन् । उनले यही साउन ४ गते अवकास पाउनेछन् ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले साउन ७ गत अवकास पाउनेछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सचिव हरिप्रसाद मैनालीले साउन १९ गते, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डिल्लीराम शर्माले भदौ ३ गते र वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बाबुराम अधिकारीले भदौ ४ गते अवकास पाउनेछन् ।
किताबखानाका अनुसार गृह मन्त्रालय सचिव राजकुमार श्रेष्ठले भदौ १६ गते, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले असोज १४ गते, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव सरजुकुमार वैद्यले असोज १६ गते, महान्याधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सन्जिवराज रेग्मीले असोज १८ गते र महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारीले असोज १८ गते अवकास पाउनेछन् ।
राष्ट्रिय योजना आयोगको सचिवालयका सचिव रविलाल पन्थले असोज १९ गते, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पुस २१ गते, लोकसेवा आयोग केन्द्रीय कार्यालयका सचिव रामेश्वर ढंगालले माघ १७ गते, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले फागुन ५ गते र राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत दीनानाथ मिश्रले चैत ३ गते अवकास पाउनेछन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले २०८४ वैशाख ६ गते, महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता लोकराज पराजुलीले २०८४ जेठ ११ गते, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले असार १ गते, कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले २०८४ असार १५ गते र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव इन्दिरा दाहाल २०८४ असार २४ गते अनिवार्य अवकास जानेछन् ।
राष्ट्रिय किताबखानाका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा १५ जना सचिव र ८३ जना सहसचिवसहित दुई हजार ११९ जना निजामती कर्मचारीले अवकास पाएका थिए । आर्थिक वर्ष २०८०–०८१ मा १९ जना सचिव र ६४ जना सहसचिवसहित दुई हजार २६० जना निजामती कर्मचारीले अवकाश पाएका थिए । आर्थिक वर्ष २०७९–०८० मा दुई हजार ४०० भन्दा बढी निजामती कर्मचारीले अनिवार्य अवकाश पाएका थिए ।
सत्यपाटी