२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

प्रचारको अभावमा ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

सत्यपाटीसत्यपाटी । भोजपुर । २०८३ साउन १ गते शुक्रबार

भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ । प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

स्थानीयवासीका अनुसार यस देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ । उक्त अवसरमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

साथै, यहाँको पानीमा नुहाएमा घाउ–खटिरा वा छालासम्बन्धी समस्या निको हुने विश्वाससमेत छ । देवस्थलमा पूजा गरेपछि चिताएको पुग्ने र रोग निको हुने विश्वास रहेको स्थानीयवासी सुविन राईले बताए ।

‘छरछरे पखुवा देवी ओझेलमा परेको छ । यो स्थानको उचित प्रचारप्रसार हुन सकेमा धार्मिक पर्यटनको राम्रो सम्भावना छ,’ उनले भने । यो देवस्थल भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत पर्ने हिलेभञ्ज्याङबाट करिब तीन किलोमिटरभित्र छ ।

पछिल्लो समय स्थानीय तह तथा समुदायको सक्रियतामा उक्त देवस्थलको भौतिक विकासको प्रक्रिया अघि बढाइएको छ । देवदेवीका मूर्तिको संरक्षणका लागि घेराबारा निर्माण गरिएको छ भने श्रद्धालु तथा पर्यटकलाई सहज आवतजावतका लागि सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

प्राकृतिक रूपमा अत्यन्त मनमोहक र अलौकिक अनुभूति दिने यो स्थान धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ । हरियाली वन, स्वच्छ वातावरण र धार्मिक आस्थाको सङ्गमले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ ।

व्यवस्थित योजना, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ । देवस्थलको दर्शनका लागि पुगेका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले देवस्थललाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेको बताए ।

प्राकृतिक सौन्दर्य र धार्मिक आस्था दुवै रहेको यस स्थललाई योजनाबद्ध रूपमा प्रवद्र्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ । स्थानीयवासीका अनुसार देवस्थलको संरक्षण र प्रवद्र्धनका लागि थप लगानी आवश्यक छ । सूचना पाटी, विश्रामस्थल, खानेपानी, सरसफाइ तथा आवासको व्यवस्था गर्न सके यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार