२०८३ असार ३२ , बिहीबार 16, July 2026, Thursday

फत्तेपुर स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार ३२ गते बिहीबार

स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको बाँकेको दुर्गम ग्रामीण क्षेत्र मानिने राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुर स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएपछि सो क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारमा निकै सहज भएको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँकै स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएपछि स्थानीयलाई अब सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालगन्ज वा कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।

उनले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अभियान अन्तर्गत स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गरिएपछि स्थानीयको समय र पैसा दुवै बचत भएको प्रस्ट पारे । अध्यक्ष पौडेलले भने, ‘स्वास्थ्य परीक्षणका लागि यहाँका बासिन्दाले नेपालगन्ज र कोहलपुर पुग्नुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ । गाउँमै सेवा उपलब्ध हुँदा समय, खर्च र सास्ती तीनै कुराको बचत हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय नागरिकले पाएका छन् ।’

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले यसअघि सामान्य रगत, पिसाब वा अन्य प्रयोगशाला परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता रहेकोमा अहिले गाउँको स्वास्थ्य चौकीमै ल्याब सेवा सञ्चालन भएपछि बिरामीले सहज, छिटो र कम खर्चमा परीक्षण सेवा पाउन थालेको बताए । उनका अनुसार विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घरोगी तथा आर्थिक रूपमा कमजोर परिवारलाई यसबाट ठुलो राहत मिलेको छ ।

गाउँमै प्रयोगशालाको सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धी भएको अधिकांश स्थानीय बासिन्दाको धारणा छ । वडा नम्बर ७ फत्तेपुरका स्थानीय रामचरण थारूले अब सामान्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हटेको हुँदा यसले समयसँगै आर्थिक भार पनि घटाएको बताए । उनले गाउँमा प्रयोगशाला सुरु भएपछि रोग पत्ता लगाउन सहज हुँदा उपचारमा पनि सहज भएको जनाए । राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले पालिकाले चरणबद्ध रूपमा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दै ल्याब सेवा विस्तार गरेको बताए ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहीबार