सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ । सीमापारि रुपैडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका जमुनाहाबाट फिर्ता पठाउने गरिएको छ ।
तर, नेपालगन्जका बजारमा भने भारतबाट ल्याइएका आँप खुलेआम बिक्री भइरहेको स्थानीयले बताएका छन् । भारतीय नागरिकले भारतबाट ल्याएका आँप दैनिक ठुलो परिमाणमा महँगो मूल्यमा बिक्री गरिरहेको उनीहरूको भनाइ छ ।
नेपालगन्ज–११ ईदगाह रोडका राजु जसगढले त्रिभुवन चोकदेखि अस्पताल रोड, धम्बोझी चोक, त्रिवेणी मोड र बीपी चोक लगायतका बजार क्षेत्रमा साइकल, ठेला र पसलबाट भारतीय आँप बिक्री भइरहेको बताए ।
‘भारतबाट दुई किलो आँप किनेर ल्याउँदा सुरक्षाकर्मीले फर्काइदिए । तर यतिधेरै आँप बजारमा कसरी आयो भन्ने प्रश्न उठेको छ,’ उनले भने । नेपालगन्ज सदरलाइनका जावेद राईले जमुनाहा नाकाबाट आँप ल्याउन नपाउने उपभोक्ता बजारमा पुग्दा जताततै भारतीय नागरिकले भारतीय आँप बिक्री गरिरहेको देखेर आश्चर्यचकित हुने गरेको बताए ।
नेपालगन्ज र आसपासका क्षेत्रमा आँप उत्पादन न्यून रहेकाले स्थानीय उपभोक्ता भारतबाट आउने आँपमा निर्भर छन् । यसपटक सीमापारिबाट आँप ल्याउन नपाएपछि उपभोक्ता महँगो मूल्य तिरेर आँप किन्न बाध्य भएको गुनासो गरेका छन् ।
नेपालगन्ज बजारमा अहिले भारतबाट ल्याइएका आँप प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्म बिक्री भइरहेको स्थानीयको भनाइ छ । नेपालगन्ज–७ गगनगन्जका दिनेश मानन्धरले रुपैडिहामा ७० देखि ८० रुपैयाँ प्रतिकिलो पर्ने आँप नेपालगन्जमा २०० रुपैयाँभन्दा बढीमा किन्नुपरेको बताए ।
नेपालगन्जको त्रिभुवन चोकमा आँप बिक्री गरिरहेका भारत नवाबगन्जका रमेश मौर्यले नाकामा आँप ल्याउन रोक लगाइएको भए पनि आफूहरूले जुगाड गरेर ल्याउने गरेको स्वीकार गरे । उनले दैनिक एकदेखि दुई क्यारेटसम्म आँप ल्याउने गरेको बताए । एक क्यारेटमा २० किलो आँप हुन्छ ।
सीमापारिबाट खानका लागि आँप ल्याउन नपाएपछि यस पटक राम्रोसँग आँप खान नपाएको अधिकांश स्थानीयको गुनासो छ । यता, जमुनाहा नाकामा खटिएका सुरक्षाकर्मीले केरा र आँप नेपाल ल्याउन रोक लगाइएको बताएका छन् । ड्युटीमा रहेका एक प्रहरीले केरा र आँप लगायत प्रतिबन्धित वस्तु नेपाल भित्र्याउन कडाइ गरिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले केरा, आँप लगायत रोक लगाइएका वस्तु भारतबाट ल्याउन नदिइएको बताउँदै बजारमा भारतीय आँप कसरी पुग्यो भन्ने विषयमा छानबिन गरिने जानकारी दिए ।
सत्यपाटी