स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म देशभर ‘डेंगी सचेतना’ अभियान सञ्चालन गर्ने भएको छ । साउन, भदौ र असोज तीन महिनासम्म ‘डेंगी सचेतना’ अभियान सञ्चालन गरिने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
उनले साउनदेखि डेंगीको संक्रमण बढ्ने सम्भावना भएकाले तीन महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आमनागरिकलाई सचेत बनाइने बताए । ‘साउनदेखि वर्षा बढी हुने भएकाले पानी जम्मा हुने र त्यही पानीमा डेंगी सार्ने लामखुट्टेको विकास हुने भएकाले सोबारे जानकारी दिन अभियान सञ्चालन गर्नेछौँ,’ डा.दाहालले भने, ‘सर्वसाधारणलाई डेंगीबाट बच्ने उपाय लगायत विषयमा सचेत गराउने छौँ ।’
साउनदेखि असोजमा डेंगी संक्रमण उच्च हुने सम्भावना रहेको उनले बताए । सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्भा खोज र नष्ट गर, टोलटोल र विद्यालय गएर डेंगी संक्रमणबारे सचेतना फैलाइने शाखा प्रमुख डा.दाहालले उल्लेख गरे । उनका अनुसार, गत जनवरीदेखि अहिलेसम्म एक हजार २४४ जनामा डेंगी संक्रमण देखिएको छ ।
सत्यपाटी