कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण लिन जिल्ला प्रहरी कार्यालय तानिएको छ ।
घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनीसँग सोधपुछ गर्न जिल्ला प्रहरीले बोलाएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई घटनाबारे सामान्य बुझ्नका लागि जिल्ला बोलाइएको पुष्टि गरे । कार्यक्रममा चौधरीले ‘अन्यायमा परेकालाई न्याय दिलाउने पुलिस यही हो, केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो’ भन्दै प्रहरी संगठनको निष्पक्ष भूमिकाबारे धारणा राखेका थिए ।
उनले आफूहरू राजनीतिक प्रभावबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएर प्रहरी सेवामा आएको उल्लेख गर्दै ‘हामी भोट, टीका वा दारुभात खाएर आएका होइनौँ’ समेत बताएका थिए ।
भिडियो सार्वजनिक नगर्न उनले कार्यक्रममा आग्रह गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसपछि उत्पन्न भएको चर्चा र विवादका बीच जिल्ला प्रहरीले उनको अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा सोधपुछका लागि बोलाइएको जनाएको छ ।
सत्यपाटी