२०८३ असार २४ , बुधबार 8, July 2026, Wednesday

२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्तीको दाह्रा काटिँदै

सत्यपाटीसत्यपाटी । चितवन । २०८३ असार २४ गते बुधबार

चितवन राष्ट्रिय निकुञ्जमा आतंक मच्चाउँदै २५ जनाको ज्यान लिइसकेको जंगली भाले हात्ती ‘ध्रुवे’ लाई नियन्त्रणमा लिएर उसको दाह्रा काटिने भएको छ । गत शनिबार राति मात्रै भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि निकुञ्ज प्रशासनले यो कदम चाल्न लागेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेलाई नियन्त्रणमा लिई बेहोस (डार्ट) बनाएर दाह्रा छोटो पारिनेछ भने उसको घाँटीमा नयाँ प्रविधिको रेडियो कलरसमेत जडान गरिनेछ । दुई वर्षअघि पनि यस हात्तीको दाह्रा काटिएको थियो ।

यसअघि जडान गरिएको रेडियो कलरले समयमै सूचना दिन छाडेकाले अहिले नयाँ उपकरण ल्याइएको र यो जडान गरेपछि हात्ती मानव बस्तीमा पस्नासाथ तत्काल स्थानीयलाई खबर गरी सतर्कता अपनाउन सहज हुने विश्वास गरिएको छ । शनिबारको दुःखद घटनापछि ध्रुवेको निरन्तर अनुगमन भइरहेको छ ।

सो राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घरसमेत जलेर नष्ट भएको थियो । आमाछोरालाई आक्रमण गरेर भागेको ध्रुवे सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेट भत्काउँदै स्थानीय दुई घरमा पसेर अन्न खाएको भेटिएको थियो ।

वि.सं. २०६६ माघदेखि मान्छे मार्न सुरु गरेको ध्रुवेले २०६९ सालसम्म १५ जनाको ज्यान लिइसकेको थियो, जसमा २०६९ सालको कात्तिकमा एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जना मारिएपछि स्थानीय प्रशासनले यसलाई मार्ने निर्णयसमेत गरेको थियो । त्यसपछि झन्डै नौ वर्ष शान्त रहेको ध्रुवेले वि.सं.२०७४ मा नेपाली सेनाका एक सेनानीलाई मारेको थियो भने अहिले आएर पुनः दुई जनाको ज्यान लिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे, रोनाल्डो, गोविन्द लगायतका करिब ४५ देखि ५० वटा जंगली हात्ती रहेका छन्, जसमध्ये निकुञ्जका पोथी हात्ती यिनै रैथाने भाले हात्तीहरूबाट प्रजनन् हुँदै आएका छन् । अन्य हात्तीहरूले मानवीय क्षति नपु¥याए पनि ध्रुवेले भने लगातार दुःख दिँदै आएको छ ।

हाल ध्रुवे निकुञ्जको सुखीभार क्षेत्र आसपास रहेको र टोली भेट्ने बित्तिकै डार्ट गर्ने तयारीमा रहेको निकुञ्ज प्रशासनले जनाएको छ । यता, हात्तीको आक्रमण र आगलागीबाट पीडित बनेको बोटे परिवारको घर पुनर्निर्माणका लागि निकुञ्ज, विपद् व्यवस्थापन समिति लगायतका सरोकारवाला सङ्घसंस्थाहरू मिलेर तयारी सुरु गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार