पर्यटकीय नगरी पोखरामा सञ्चालित साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण निकै बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपाल एडभेन्चर्स प्रालिले सञ्चालनमा ल्याएको बञ्जीजम्पमा यतिबेला भारतीय पर्यटकहरूको ठूलो भीड लाग्ने गरेको छ ।
कम्पनीका अनुसार गत जेठ महिनामा मात्रै कुल ५०० जनाले बञ्जीजम्प गरेकामा त्यसको ५० प्रतिशत हिस्सा साहसिक भारतीय पर्यटकको रहेको थियो । भारतीय युवाहरूको आगमनमा भएको यो वृद्धिसँगै कम्पनीले जेठ महिनामा मात्रै ३७ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
पछिल्लो समय सडक तथा हवाई पहुँच सहज बन्दै जाँदा पोखरामा भारतीय पर्यटकको चाप बढेको र उनीहरू दैनिकजसो समूहमा बञ्जीजम्पका लागि पुग्ने गरेका छन् । भारतीय पर्यटकबाहेक वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिएका नेपाली युवाहरू छुट्टीमा स्वदेश फर्किँदा पोखरा भ्रमणसँगै बञ्जीजम्पलाई आफ्नो मुख्य रोजाइ बनाउने गरेका छन् ।
छ वर्षअघि पोखराका ११ जना युवा उद्यमीहरूले कुल आठ करोड २५ लाख रुपैयाँको संयुक्त लगानीमा यो प्रालि स्थापना गरेका थिए । क्यान्टिलिभर ब्रिजको डिजाइनमा निर्मित ३५ मिटर अग्लो टावर र सेती नदीको खोंचमा बनेको १०१ मिटर गहिराइको यो बञ्जीजम्पबाट प्राकृतिक दृश्यावलोकन गर्न पाउनु यसको मुख्य विशेषता हो ।
हामफाल्ने क्रममा एकातर्फ माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला तथा अर्कातर्फ हरियाली खोंच देखिने भएकाले पर्यटकहरूले यसलाई जीवनकै अविस्मरणीय अनुभवका रूपमा लिने गरेका छन् । हालसम्म १५ हजारभन्दा बढीलाई बञ्जीजम्प गराइसकेको यस कम्पनीले प्रतिव्यक्ति सात हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ, जसमा फोटो, भिडियो र टिसर्ट उपहारको समेत व्यवस्था छ ।
बञ्जीजम्प सञ्चालनमा आएसँगै यसले स्थानीय स्तरमा होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ भने हाल २० जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ । कम्पनीले वार्षिक रूपमा सरकारलाई दुईदेखि साढे दुई लाख रुपैयाँसम्म राजस्व बुझाउँदै आएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरामा प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट जस्ता साहसिक खेलहरूसँगै बञ्जीजम्प पनि महत्त्वपूर्ण पर्यटकीय उत्पादनका रूपमा स्थापित भएको छ । यस्ता गतिविधिले विदेशी मुद्रा आर्जन र युवा रोजगारीमा ठूलो योगदान पुर्याएका छन् ।
पोखराको मुख्य पर्यटकीय क्षेत्रबाट करिब तीन किलोमिटर दूरीमा रहेको यो गन्तव्यका कारण धेरै आन्तरिक पर्यटकको पोखरा बसाइ लम्बिने गरेको छ । निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य गरेर यस्ता गन्तव्यलाई अझ व्यवस्थित बनाउन सके पोखराले अन्तर्राष्ट्रिय साहसिक पर्यटन क्षेत्रमा थप उचाइ हासिल गर्ने पर्यटन व्यवसायीहरूको विश्वास छ ।
सत्यपाटी