२०८३ असार २३ , मंगलबार 7, July 2026, Tuesday

हरियाली प्रवर्द्धन गर्न पौने सात लाख बिरुवा बाँडियो

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार २३ गते मंगलबार

बाँकेको राँझास्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रजातिका ६ लाखभन्दा बढी बिरुवा किसानलाई निःशुल्क वितरण गर्न थालेको छ ।

चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण कार्य सुरु गरिएको हो । वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार यस वर्ष एकवर्षीय ५ लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका छन् ।

ती बिरुवाहरू हिजोदेखि नै स्थानीय किसानलाई वितरण गर्न थालिएको छ । नर्सरीमा विशेष गरी सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन र एकासिया जस्ता प्रजातिहरू बढी मात्रामा हुर्काइएका छन् ।

यसका साथै अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अर्जुन, धुपी, रिठा, कपुर, कुसुम र निलमफूल जस्ता वनस्पति पनि नर्सरीमा तयार पारिएका छन् ।

किसानहरूलाई वितरण गर्न थालिएका यी बिरुवाहरूमा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा विभिन्न प्रकारका सजावटका प्रजातिहरू समावेश छन्, जसले जिल्लाको वातावरणीय सन्तुलन र हरियाली बढाउन ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार