२०८३ असार २३ , मंगलबार 7, July 2026, Tuesday

एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २३ गते मंगलबार

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेलाडी अक्सन सुरु भएसँगै पहिलो चरणको क्याटेगोरी ‘सी’मा १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन् । विराटनगर किङ्स र जनकपुर बोल्ट्सले सर्वाधिक चार लाख २५ हजार रुपैयाँ खर्च गर्दै क्रमशः सुजन थपलिया र रित गौतमलाई टोलीमा भित्र्याएका छन् ।

राजधानीमा जारी अक्सनमा क्याटेगोरी ‘सी’का ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए । हालसम्म १२४ खेलाडीमध्ये १७ जना विभिन्न टोलीमा अनुबन्ध भएका छन् । यस चरणमा विराटनगर किङ्सले सुजन थपलियालाई चार लाख २५ हजार रुपैयाँमा अनुबन्ध गर्दै सबैभन्दा बढी रकम खर्च गरेको छ । विराटनगर किङ्सले अपराजित पौडेललाई दुई लाख रुपैयाँमा अनुबन्ध गराएको छ ।

जनकपुर बोल्ट्सले पनि रित गौतमलाई समान चार लाख २५ हजार रुपैयाँमा टोलीमा भित्र्याएको छ । काठमाडौं गोर्खाजले बागमती प्रदेशका अलराउन्डर सोनु देवकोटालाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ । त्यस्तै प्रसिद्ध जैसी र दयानन्द मण्डललाई पनि समान दुई लाख रुपैयाँमा टोलीमा समावेश गरेको छ । लुम्बिनी लायन्सले अरनिको यादवलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

अपराजित पौडेललाई दुई लाख रुपैयाँमा विराटनगर किङ्सले टोलीमा भित्र्याएको छ । कर्णाली याक्सले सूर्य तामाङलाई आधार मूल्य दुई लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ । सुदूरपश्चिम रोयल्सले सचिन भट्ट र आयुव चन्दलाई समान दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवन राइनोजले विपिन रावल, अशोक धामीलाई र मौसम ढकाललाई टोलीमा समावेश गरेको छ ।

मौसम ढकाल तीन लाख रुपैयाँमा अनुबन्ध भएका हुन् भने समान दुई लाख रुपैयाँमा विपिन र अशोक अनुबन्ध भएका हुन् । पोखरा एभेन्जर्सले सुदीप अर्याल (तीन लाख), विवेककुमार रानामगर (दुई लाख ७५ हजार) र सन्नी विक (दुई लाख)लाई टोलीमा भित्र्याएको छ । जनकपुर बोल्ट्सले रित गौतमसँगै सन्तोष कार्कीलाई तीन लाख रुपैयाँ तथा युवा बलर आशुतोष पाण्डेलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

समाचार तयार गर्दासम्म जनकपुरले तीन खेलाडी अनुबन्ध गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ । अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन् ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार