हालै मात्र लुम्बिनी प्रदेशकै ‘उत्कृष्ट अनुसन्धानकर्ता’को रूपमा पुरस्कृत भएका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हालेको बाँके जिल्लामा सीमा सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर प्रश्न उठ्न थालेको छ । मुख्य नाका जमुनाहामा सुरक्षा व्यवस्था र भौतिक अनुशासनमा कडाई गरिएको दाबी प्रहरीले गरे पनि जिल्लाका अन्य खुला तथा ‘अवैध’ नाकाहरूबाट भने भन्सार छली र अवैध सामानको तस्करी धमाधम भइरहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान र शान्ति सुरक्षामा अब्बल ठहरिएका एसपी जिसीले लुम्बिनी प्रदेशको वर्षकै उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका थिए । तर, उनी पुरस्कृत भएकै समयमा बाँकेका ग्रामीण क्षेत्रका ‘चोरबाटो’ र ‘गैरकानूनी’ नाकाहरूबाट भारतीय सामानहरू राजस्व छली गरी नेपाल भित्र्याउने गिरोह सक्रिय भएको स्थानीय बासिन्दा तथा व्यवसायीहरूको गुनासो छ ।
नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि ‘मुख्य नाका’ नेपालगन्जको जमुनाहमा सुरक्षा जाँच कडा बनाइएको दाबी गरिएपनि ‘अबैध’ नाकाबाट भने तस्करी मौलाएको हो । भारतसँग सीमा जोडिएका बाँकेका अन्य ग्रामीण नाकाहरू साईगाउँ, सुइया, कटकुइया, खडैचा र नरैनापुर क्षेत्रका खुला सीमानाहरूबाट राती र बिहानीपख ठूलो मात्रामा कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान र हार्डवेयरका सामाग्रीहरू अवैध रूपमा भित्रिरहेका छन् ।
‘मुख्य नाकामा प्रहरी देखिने गरी बस्छ, तर भित्री चोरबाटोहरूबाट साइकल, मोटरसाइकलमा तस्करीका सामानहरू बजारसम्म पुग्ने गरेका छन्,’ एक स्थानीय प्रत्यक्षदर्शीले बताए । एसपी जिसीले बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा जस्ता कामहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको बताइएको छ । तर, सीमा नाकामा हुने तस्करीले एसपी जिसीको कार्यकुशलता र क्षमतामाथि प्रश्न चिन्ह खडा गरेको छ ।
जिल्लाको शान्ति सुरक्षा र ठूला अपराधको सफल अनुसन्धान गरेर प्रशंसा कमाएका जिसीलाई अहिले तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै चुनौती थपिदिएका छन् । सीमावर्ती क्षेत्रका स्थानीय प्रत्यक्षदर्शीका अनुसार नेपाली सुरक्षाकर्मीसँग ‘लाइन’ मिलाएर जयसपुर, बढैया, साइगाउँ, राधापुर, बेलभार, खडैचा, पिप्रहवा, गंगापुर लगायतका क्षेत्रका खुला सीमाबाट दैनिक रूपमा विभिन्न सामान नेपाल भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।
सुरक्षाकर्मीले मुख्य नाकामा कडाई गरे पनि ‘अबैध’ नाकामा प्रभावकारी निगरानी नहुँदा तस्करी बढ्दै गएको स्थानीयको आरोप छ । तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मीको ‘मिलेमतो’ र ‘सेटिङ’मा भइरहेको स्थानीय प्रत्यक्षदर्शीको आरोप छ । यद्यपी, सुरक्षा निकायले भने आफ्नो बचाउ गर्दै आएका छन् । प्रहरी चौकी साइगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मोहन बमले स्रोत साधनले भ्याएसम्म नाकामा निगरानी बढाइएको दावी गर्छन् ।
उनले सकेसम्म आफुहरुले नाकामा निगरानी गर्दै आएको बताए । ‘आँखा छलेर तस्करी भएको भए हामीलाई जानकारी भएन । बिहान ६ बजेदेखि राती १२ बजेसम्म ड्युटीमै हुन्छौँ,’ उनले भने, ‘घरायसी सामान ल्याउन सहज भए पनि व्यापारिक उद्देश्यका लागि गरिने आयातमा कडाइ गरिएको छ ।’ यता एक जना प्रत्यक्षदर्शीले मुख्य नाकामा जाँच कडा हुँदा तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा वैकल्पिक बाटो प्रयोग गरेर तस्करी गराइरहेको बताए ।
सीमावर्ती गाउँका कच्ची बाटो हुँदै यतिबेला खाद्यान्न, किरानाका सामान, लत्ताकपडा, इलेक्ट्रोनिक, लागुऔषध तथा कानूनले प्रतिबन्ध लगाएका सामग्री अवैधरुपमा ओसारपसार हुने गरेको स्थानीयको दाबी छ । ‘जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वैकल्पिक नाकाबाट तस्करी झनै मौलाएको छ,’ अर्का एक प्रत्यक्षदर्शीले बताए । पछिल्लो समय सीमा नाकाहरु तस्करीका मुख्य ट्रान्जिट बिन्दुको रूपमा विकास भएको स्थानीय स्रोत बताउँछ ।
सञ्चार माध्यम र सरोकारवाला निकायको पहुँच न्यून भएका कारण ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयले गुनासो गरेका छन् । प्रत्यक्षदर्शी भन्छन्, ‘सीमामा खटिएका सुरक्षा निकायले मुख्य नाकामा मात्र नभई खुला सीमामा पनि प्रभावकारी गस्ती, निगरानी र अनुगमन बढाउनु पर्ने भएको छ ।’ जमुनाहको शर्मा गल्ली र पिप्रहवाबाट समेत तस्करी बढेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् । शर्मा गल्लीमा ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी र सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करले सामान ओसारपसार गर्दै आएका छन् । पिप्रहवामा सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएको छ । त्यहाँ ड्यूटी गर्ने सशस्त्र प्रहरीको मिलोमतोमा रातको समयमा तस्करी हुने गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । ‘लाइन लिएका तस्करले सामान ल्याउने बेला सशस्त्र प्रहरी नदेखे झैँ गर्छन्,’ ती स्थानीयले भने । अवैध नाकाहरूबाट हुने यो राजश्व चुहावटले एकातिर राज्यलाई घाटा पुर्याइरहेको छ भने अर्कोतिर वैधानिक रूपमा कर तिरेर व्यवसाय गर्ने स्थानीय व्यापारीहरू मर्कामा परेका छन् ।
सत्यपाटी