२०८३ असार २३ , मंगलबार 7, July 2026, Tuesday
सीमा नाकाबाट तस्करी

बाँकेका मुख्य नाकामा कडाई, चोर बाटोबाट तस्करी खुल्ला

नेपाली सुरक्षाकर्मीसँग ‘लाइन’ मिलाएर जयसपुर, बढैया, साइगाउँ, राधापुर, बेलभार, खडैचा, पिप्रहवा, गंगापुर लगायतका क्षेत्रका खुला सीमाबाट दैनिक रूपमा विभिन्न सामान नेपाल भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार २३ गते मंगलबार
फाइल तस्वीर

हालै मात्र लुम्बिनी प्रदेशकै ‘उत्कृष्ट अनुसन्धानकर्ता’को रूपमा पुरस्कृत भएका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हालेको बाँके जिल्लामा सीमा सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर प्रश्न उठ्न थालेको छ । मुख्य नाका जमुनाहामा सुरक्षा व्यवस्था र भौतिक अनुशासनमा कडाई गरिएको दाबी प्रहरीले गरे पनि जिल्लाका अन्य खुला तथा ‘अवैध’ नाकाहरूबाट भने भन्सार छली र अवैध सामानको तस्करी धमाधम भइरहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान र शान्ति सुरक्षामा अब्बल ठहरिएका एसपी जिसीले लुम्बिनी प्रदेशको वर्षकै उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका थिए । तर, उनी पुरस्कृत भएकै समयमा बाँकेका ग्रामीण क्षेत्रका ‘चोरबाटो’ र ‘गैरकानूनी’ नाकाहरूबाट भारतीय सामानहरू राजस्व छली गरी नेपाल भित्र्याउने गिरोह सक्रिय भएको स्थानीय बासिन्दा तथा व्यवसायीहरूको गुनासो छ ।

नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि ‘मुख्य नाका’ नेपालगन्जको जमुनाहमा सुरक्षा जाँच कडा बनाइएको दाबी गरिएपनि ‘अबैध’ नाकाबाट भने तस्करी मौलाएको हो । भारतसँग सीमा जोडिएका बाँकेका अन्य ग्रामीण नाकाहरू साईगाउँ, सुइया, कटकुइया, खडैचा र नरैनापुर क्षेत्रका खुला सीमानाहरूबाट राती र बिहानीपख ठूलो मात्रामा कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान र हार्डवेयरका सामाग्रीहरू अवैध रूपमा भित्रिरहेका छन् ।

‘मुख्य नाकामा प्रहरी देखिने गरी बस्छ, तर भित्री चोरबाटोहरूबाट साइकल, मोटरसाइकलमा तस्करीका सामानहरू बजारसम्म पुग्ने गरेका छन्,’ एक स्थानीय प्रत्यक्षदर्शीले बताए । एसपी जिसीले बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा जस्ता कामहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको बताइएको छ । तर, सीमा नाकामा हुने तस्करीले एसपी जिसीको कार्यकुशलता र क्षमतामाथि प्रश्न चिन्ह खडा गरेको छ ।

जिल्लाको शान्ति सुरक्षा र ठूला अपराधको सफल अनुसन्धान गरेर प्रशंसा कमाएका जिसीलाई अहिले तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै चुनौती थपिदिएका छन् । सीमावर्ती क्षेत्रका स्थानीय प्रत्यक्षदर्शीका अनुसार नेपाली सुरक्षाकर्मीसँग ‘लाइन’ मिलाएर जयसपुर, बढैया, साइगाउँ, राधापुर, बेलभार, खडैचा, पिप्रहवा, गंगापुर लगायतका क्षेत्रका खुला सीमाबाट दैनिक रूपमा विभिन्न सामान नेपाल भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।

सुरक्षाकर्मीले मुख्य नाकामा कडाई गरे पनि ‘अबैध’ नाकामा प्रभावकारी निगरानी नहुँदा तस्करी बढ्दै गएको स्थानीयको आरोप छ । तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मीको ‘मिलेमतो’ र ‘सेटिङ’मा भइरहेको स्थानीय प्रत्यक्षदर्शीको आरोप छ । यद्यपी, सुरक्षा निकायले भने आफ्नो बचाउ गर्दै आएका छन् । प्रहरी चौकी साइगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मोहन बमले स्रोत साधनले भ्याएसम्म नाकामा निगरानी बढाइएको दावी गर्छन् ।

उनले सकेसम्म आफुहरुले नाकामा निगरानी गर्दै आएको बताए । ‘आँखा छलेर तस्करी भएको भए हामीलाई जानकारी भएन । बिहान ६ बजेदेखि राती १२ बजेसम्म ड्युटीमै हुन्छौँ,’ उनले भने, ‘घरायसी सामान ल्याउन सहज भए पनि व्यापारिक उद्देश्यका लागि गरिने आयातमा कडाइ गरिएको छ ।’ यता एक जना प्रत्यक्षदर्शीले मुख्य नाकामा जाँच कडा हुँदा तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा वैकल्पिक बाटो प्रयोग गरेर तस्करी गराइरहेको बताए ।

सीमावर्ती गाउँका कच्ची बाटो हुँदै यतिबेला खाद्यान्न, किरानाका सामान, लत्ताकपडा, इलेक्ट्रोनिक, लागुऔषध तथा कानूनले प्रतिबन्ध लगाएका सामग्री अवैधरुपमा ओसारपसार हुने गरेको स्थानीयको दाबी छ । ‘जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वैकल्पिक नाकाबाट तस्करी झनै मौलाएको छ,’ अर्का एक प्रत्यक्षदर्शीले बताए । पछिल्लो समय सीमा नाकाहरु तस्करीका मुख्य ट्रान्जिट बिन्दुको रूपमा विकास भएको स्थानीय स्रोत बताउँछ ।

सञ्चार माध्यम र सरोकारवाला निकायको पहुँच न्यून भएका कारण ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयले गुनासो गरेका छन् । प्रत्यक्षदर्शी भन्छन्, ‘सीमामा खटिएका सुरक्षा निकायले मुख्य नाकामा मात्र नभई खुला सीमामा पनि प्रभावकारी गस्ती, निगरानी र अनुगमन बढाउनु पर्ने भएको छ ।’ जमुनाहको शर्मा गल्ली र पिप्रहवाबाट समेत तस्करी बढेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् । शर्मा गल्लीमा ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी र सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएका छन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करले सामान ओसारपसार गर्दै आएका छन् । पिप्रहवामा सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएको छ । त्यहाँ ड्यूटी गर्ने सशस्त्र प्रहरीको मिलोमतोमा रातको समयमा तस्करी हुने गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । ‘लाइन लिएका तस्करले सामान ल्याउने बेला सशस्त्र प्रहरी नदेखे झैँ गर्छन्,’ ती स्थानीयले भने । अवैध नाकाहरूबाट हुने यो राजश्व चुहावटले एकातिर राज्यलाई घाटा पुर्याइरहेको छ भने अर्कोतिर वैधानिक रूपमा कर तिरेर व्यवसाय गर्ने स्थानीय व्यापारीहरू मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार