२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालनमा तीव्रता

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सुविधा पुनःस्थापना गर्ने कार्यमा दूरसञ्चार सेवाप्रदायकले तीव्रता दिएका छन् ।

बाढीबाट मुख्य रूपमा प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा क्षतिग्रस्त टेलिकम टावर पुनः सञ्चालनदेखि फाइबर मर्मतलाई सेवाप्रदायकले प्राथमिकतामा राखेर काम गरिरहेको जनाएका छन् ।

नेपाल टेलिकमले बिहीबार नै हेलिकोप्टरबाट कर्मचारी परिचालन गरेर रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याएको छ । शुक्रबार पनि कम्पनीका प्राविधिक प्रभावित क्षेत्रमा पुगेर सेवा सञ्चालन हुन बाँकी स्थानमा काम गरिरहेको टेलिकमले जनाएको छ ।

रसुवामा बाढीका कारण बन्द भएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोलजुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याई स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका–३ र ५ तथा स्याफ्रुबेँसी–टिम्मुरे सडकखण्डका केही भागमा सेवा सुचारु भएको छ ।

त्यस्तै नुवाकोटको सूर्यगढी गाउँपालिका–३ मा अवस्थित गेर्खु मोबाइल टावर सञ्चालनमा ल्याएर विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही भागमा दूरसञ्चार सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।

विदुर नगरपालिका–८ मा अवस्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमाथिको डाँडामा अवस्थित टेलिकम टावरमा हेलिकोप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिक खटाई सेवा सुचारु गर्ने काम भइरहेको पनि कम्पनीले जानकारी दिएको छ ।

टेलिकमका अनुसार अहिलेसम्म तीन वटा जिल्लाका प्रभावित १२० साइटमध्ये ८० साइटमा सेवा सुचारु भइसकेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले पनि बाढीका कारण प्रभावित तीन वटै जिल्लाका प्रभावित कुल २७ साइटमध्ये बिहीबार रसुवाका तीन, नुवाकोटका आठ र धादिङका तीन गरी १४ साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

शुक्रबार पनि थप पाँच वटा टावर सञ्चालनमा आएको कम्पनीले जनाएको छ । बाढीका कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिङ्कमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएर सेवामा असर परेको थियो ।

कम्पनीले सम्भव भएका ठाउँमा क्षतिग्रस्त फाइबर मर्मत गरेर र कतिपय ठाउँमा पुराना माइक्रोवेभ लिङ्क प्रयोग गरेर नेटवर्क पुनः सञ्चालन ल्याएको उल्लेख गरेको छ । एनसेलले आफ्ना प्राविधिक टोलीलाई हवाई तथा सडकमार्गमार्फत परिचालन गरेको जनाएको छ । एनसेलले प्रभावित क्षेत्रमा थप तीनदेखि सात दिनका लागि निःशुल्क डेटा र भ्वाइससेवा उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार