बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि भरतपुर अस्पतालमा चार वटा फरेन्सिक विज्ञको टोली परिचालन गरिएको छ । विभिन्न स्थानबाट ल्याइएका शवको पोस्टमार्टमसँगै पहिचानका लागि डिएनए नमुना सङ्कलन गर्ने काम भइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.विश्वबन्धु बगालेले जानकारी दिए ।
उनका अनुसार अस्पतालका फरेन्सिक विज्ञ डा.कश्यप श्रेष्ठ र डा.सुरज शर्माको नेतृत्वमा चार वटा समूह बनाएर शवको पोस्टमार्टम तथा पहिचानको काम भइरहेको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बगालेले शव व्यवस्थापनमा प्रहरीसँगसमेत निरन्तर समन्वय भइरहेको जानकारी दिए । शवको चाप बढेपछि फरेन्सिक विशेषज्ञको जनशक्ति थप गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पतालबाट फरेन्सिक विशेषज्ञ बोलाएर काममा खटाइएको छ भने नेपाल मेडिकल कलेजबाट पनि थप विशेषज्ञ आएका छन् । डा.बगालेका अनुसार पोस्टमार्टमसँगै प्रत्येक शवको पहिचानका लागि आवश्यक डिएनए नमुना सङ्कलन गर्ने गरिएको छ । हालसम्म ५० शवको डिएनए नमुना सङ्कलन गरिसकिएको छ ।
सङ्कलन गरिएका नमुना आवश्यकता अनुसार शव पहिचानमा प्रयोग गरिने छ । अस्पतालको क्षमताभन्दा बढी शव आएपछि पोस्टमार्टम सकिएका शवलाई अन्य सरकारी भवनमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने गरिएको छ । उक्त भवनमा शव राख्नका लागि र्याक निर्माणको कामसमेत भइरहेको छ । शव पहिचानका क्रममा आफन्तले आफ्नो परिवारका सदस्य भएको दाबी गरेमा आवश्यक प्रक्रिया पूरा गरी पहिचान पुष्टि गरेर शव बुझाउने गरिएको छ ।
शव व्यवस्थापनमा चुनौती
बाढीमा बगेर आएका शव रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीका नदी किनारमा फेला परेका छन् । सयौँको सङ्ख्यामा शव फेला परेपछि सम्बन्धित जिल्लाका अस्पताल तथा शवगृहमा ठाउँको अभाव हुन थालेको छ । कतिपय जिल्लामा शव राख्न वैकल्पिक स्थानको व्यवस्था गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चितवन जिल्लामा मात्र २३० भन्दा बढी शव फेला परिसकेको जानकारी दिए । अर्यालले भने, ‘एउटा सरकारी भवनलाई चिसो बनाएर शव राखिरहेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी अर्यालले २३० मध्ये हालसम्म दुई वटा शव मात्र पहिचान भएर आफन्त सम्पर्कमा आएको जानकारी दिए ।
शवको सुरक्षित संरक्षण, पहिचान र व्यवस्थापनका लागि कठिन भइरहेको उल्लेख गर्दै उनले थपे, ‘कोही आफन्त शव पहिचानका लागि सम्पर्कमा आएका छैनन् ।’ चितवनमा शव राख्ने स्थानको क्षमता सीमित भएपछि जिल्ला प्रशासनले सरकारी भवनलाई अस्थायी रूपमा चिस्यानयुक्त बनाएर शव संरक्षण गरिरहेको छ । भरतपुर अस्पतालमा २४ जनाको शव राख्न सक्ने क्षमता रहेको छ ।
नवलपरासीबाट अन्यत्र पठाइयो
नवलपरासीमा शव व्यवस्थापनका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा राखिएको छ । जिल्लामा हालसम्म १३४ शव प्राप्त भएकोमा ४१ शव पोखरा पठाइएको छ भने आठ वटा शव जिल्ला अस्पतालमा पठाइएको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा ३६ शव राखिएको छ । मध्यविन्दु प्रादेशिक अस्पतालमा ४१ र मध्यविन्दु नगर अस्पतालमा पाँच शव राखिएको छ । घटनास्थलमा अझै तीन शव रहेको छ ।
पूर्वी नवलपरासी विपत् व्यवस्थापन शाखाका आशिष श्रेष्ठका अनुसार प्राप्त शवलाई उपलब्ध स्वास्थ्य संस्था तथा अस्पतालमा व्यवस्थापन गरिएको छ । शव व्यवस्थापनका लागि स्थान अभाव भएपछि गण्डकी अस्पताल पोखरा तथा पालिकाका नगर अस्पतालमा समेत शव पठाइएको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डिइओसी)का अनुसार शव राख्ने स्थानको अभावका कारण उपलब्ध खाली ठाउँ तथा अस्पतालमा व्यवस्थापन गर्नु परेको हो ।
पोखरामा बढ्यो चाप
बाढीबाट फेला परेका शवको व्यवस्थापनका लागि पोखरामा समेत चाप बढेको छ । गण्डकी प्रदेशका गोरखा, नवलपुर र तनहुँमा फेला परेका शवमध्ये ठुलो सङ्ख्यामा पोखरा ल्याइएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कास्कीमा हालसम्म विभिन्न जिल्लाबाट १०२ वटा शव ल्याइएको छ ।
उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पोस्टमार्टमका लागि राखिएको जानकारी दिए । उनले नवलपरासी, गोरखा, तनहुँ, धादिङ लगायतका जिल्लाबाट शव ल्याइएको जानकारी दिए । उनले हालसम्म एक जनाको शव पहिचान भएको जानकारी दिए ।
समन्वय आवश्यक
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाढी प्रभावित जिल्लामा शवको सङ्ख्या बढ्दै गएपछि तत्कालका लागि सुरक्षित चिस्यानयुक्त स्थानको व्यवस्था, शवको अभिलेखीकरण, पहिचानका लागि आवश्यक नमुना सङ्कलन तथा आफन्तसँग समन्वयलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले प्रशासनले शवलाई पहिचान र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम संस्कारको व्यवस्था गर्नुपर्ने अवस्था रहेको भन्दै धेरै शव पहिचानविहीन रहेको अवस्थामा प्रहरी, जिल्ला प्रशासन, अस्पताल, स्वास्थ्य संस्था तथा स्थानीय तहबिच समन्वय अपरिहार्य रहेको बताए ।

