दिगो वन संरक्षण र व्यवस्थापनका लागि बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८२–०८३ मा दुई चक्ला वन थप गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । कार्यालयले राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगन्ज क्षेत्रमा यसअघि एकमात्र चक्ला वन रहेकोमा चालु आर्थिक वर्षमा थप दुई चक्ला वन निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार यस वर्ष राप्तीसोनारी–३ र ४ मा भुवर भवानी तथा वडा नं.१ मा खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकेमा चक्ला वनको संख्या तीन पुगेको छ । उनले माथेवास–शम्शेरगन्ज चक्ला वन क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठुलो चक्ला वन भएको जानकारी दिए ।
३१ वटा सामुदायिक वनलाई समेटेर दुई हजार ५७८ हेक्टरमा फैलिएको यस वनमा वैज्ञानिक तथा व्यावसायिक वन व्यवस्थापन अभ्यास हुँदै आएको छ । डिभिजन वन कार्यालयका अनुसार यसअघि सालका पुराना रूखहरू कुकाठमा परिणत हुने अवस्था थियो । चक्ला वन व्यवस्थापनमार्फत नयाँ रूखहरू हुर्कन उपयुक्त वातावरण तयार गरिएको छ ।
उमेर पुगेका रूखलाई निश्चित मापदण्ड अनुसार कटान गर्ने र नयाँ रूख हुर्काउने वैज्ञानिक विधि अपनाइएको कार्यालयले जनाएको छ । जिल्लामा चक्ला वनको संख्या तीन पुगेसँगै तीन चक्ला वन र ५८ सामुदायिक वन गरी करिब २० हजार हेक्टर क्षेत्रफलमा चक्ला वन तथा सामुदायिक वन सम्वर्द्धन प्रणाली अन्तर्गत दिगो वन व्यवस्थापन लागू गरिएको डिभिजन वन कार्यालय बाँकेका योजना शाखा प्रमुख तथा सहायक वन अधिकृत सुशिल सुवेदीले बताए ।
उनका अनुसार तीनवटै चक्ला वन र ५८ सामुदायिक वन गरी १९ हजार ६५३ हेक्टर क्षेत्रमा दिगो वन व्यवस्थापन लागू गरिएको छ । यसले वन संरक्षण, राजस्व संकलन तथा स्थानीय रोजगारी सिर्जनामा सहयोग पुगेको उनको भनाइ छ । दिगो वन व्यवस्थापन लागू भएपछि वनको हैसियत सुधार हुनुका साथै सुरक्षा, हेरचाह, समुदायको रोजगारी र आम्दानीमा वृद्धि भएको तथा विकास निर्माणका गतिविधि पनि बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।
सत्यपाटी