२०८३ असार २३ , मंगलबार 7, July 2026, Tuesday

विशिष्टीकृत सेवासँगै फत्तेबालमा एक लाख आँखाका बिरामीको उपचार

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार २३ गते मंगलबार

नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालबाट चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा करिब एक लाख जना बिरामीले आँखाको उपचार सेवा लिएका छन् । चालु आवको गत ११ महिनामा यो अस्पतालले ९८ लाख ३९६ जना आँखाका बिरामीको उपचार गरेको जनाउँदै तीमध्ये नौ हजार ७८ जनाले शल्यक्रिया सेवा लिएको अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पतालका प्रवन्ध निर्देशक डा.कौशल वर्माका अनुसार सो अवधिमा शल्यक्रिया सेवा लिएका नौ हजार ७८ जनामध्ये छ हजार ८९० जनाले मोतिविन्दुको, एक हजार नौ जनाले कर्नियाको, ४८२ जनाले रेटिनाको र ६०० बढीले जलविन्दु लगायतका अन्य माइनर शल्यक्रियाको सेवा लिएका छन् ।

शल्यक्रिया सेवालाई थप स्तरीय बनाउन शल्यक्रिया भवनमा पाँच वटा मोडुलर शल्यक्रिया कक्षको निर्माण गरिएको पनि प्रवन्ध निर्देशक डा.वर्माले बताए । उनका अनुसार मोडुलर शल्यक्रिया कक्षमा आवश्यक थप उपकरण तथा फर्निचर व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी छ । अहिले दुईवटा मात्रै कक्ष छन् । त्यो पनि एउटैमा ।

नयाँ कक्ष बनेपछि रेटिना, कर्नियाको शल्यक्रिया फरक–फरक कक्षमा हुनेछ । मोडुलर अप्रेशन थियटर सञ्चालनपछि मोतिविन्दु, रेटिना, अकुलोप्लाष्टि, कर्निया लगायतको शल्यक्रिया सेवा थप स्तरीय हुने डा. वर्माको भनाइ छ । गत आर्थिक वर्ष २०८१–८२ मा सो अस्पतालबाट एक लाख ३७ हजार बिरामीले आँखा उपचार गराएका थिए ।

सो आर्थिक वर्षमा एक लाख पाँच हजार ७९३ जनाले अस्पतालबाट, १० हजार ४९२ जनाले सामुदायिक आँखा उपचार केन्द्रबाट र २१ हजार ४४६ जनाले बाह्य कार्यक्रमबाट सेवा लिएका थिए । नौ हजार ७८८ जनाले शल्यक्रिया सेवा लिएका थिए । आँखा अस्पतालले लुम्विनी, कर्णाली र सुदूरपश्चिमसँगै ठुलो संख्याका भारतीय नागरिकलाई पनि सेवा दिँदै आएको छ ।

अस्पतालमा अकुलोप्लाष्टि र रेटिनासहितको विशिष्टिकृत सेवा प्रवाह भइरहेकोले बिामीको चाप बढेको अस्पतालले जनाएको छ । सो अस्पतालले हाल आँखासम्बन्धी सबै रोगको परीक्षण तथा औषधी उपचार, जलबिन्दुको शल्यक्रिया, न्यून दृष्टि परामर्श सेवा, मोतिबिन्दुको शल्यक्रियापछि देखिने जाली (पोस्टीरियर क्याप्सुल)को याग लेजरद्वारा उपचार सम्बन्धी विशिष्टीकृत सेवा प्रवाह गर्दै आएको छ ।

त्यस्तै टाँकाविहीन तथा फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया, डेढो आँखाको शल्यक्रिया, इन्ट्रोपियन (पल्काभित्र फर्किने समस्या)को उपचार, आँखामा मासु पलाउने (प्टेरिजियम) को शल्यक्रिया, आँखाको नानी मर्मत, बन्द आँसु नलीको शल्यक्रिया तथा उपचार, दृष्टिपर्दा (रेटिना) सम्बन्धी बिरामीको शल्यक्रिया सेवा, एभास्टिन इन्जेक्सन सेवा तथा रेटिना र अकुलोप्लास्टिक सम्बन्धी विशिष्टीकृत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार