२०८३ असार २२ , सोमबार 7, July 2026, Tuesday

दुई दशकपछि नेपालगन्जमा वीरेन्द्रको सालिक पुनःस्थापना

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार २२ गते सोमबार

२०६२–०६३ सालमा भएको जनआन्दोलनमा तोडफोड गरेर फालिएको स्वर्गीय राजा वीरेन्द्रको सालिकलाई दुई दशकपछि नेपालगन्जमा पुनःस्थापना गरिएको छ । यससँगै जेनजी आन्दोलनका बेला गत भदौ २४ गते तोडफोड गरेर भत्काइएका बिपी, गणेशमान र सहिद सेतु विकको सालिक पनि पुरानै ठाउँमा पुनःस्थापना गरिएको छ ।

नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले स्वर्गीय राजा वीरेन्द्रको सालिकलाई वीरेन्द्र चोकमा पुनःस्थापना गर्नुका साथै जेनजी आन्दोलनमा भत्काइएको बिपी कोइरालाको सालिकलाई बिपी चोकमा, गणेशमान श्रेष्ठको सालिकलाई गणेशमान चोक, पुष्पलाल श्रेष्ठको सालिकलाई पुष्पलाल चोक र सहिद सेतु विकको सालिकलाई सेतु विक चोकमा शुक्रबार मध्यरातमा पुनःस्थापना गरिएको बताए ।

उनले जिल्लास्थित सर्वदलीय र सर्वपक्षीय सहमतिपश्चात् नगर कार्यपालिका बैठकबाट निर्णय गरेर जेनजी आन्दोलनमा भत्काइएका सालिकसहित स्वर्गीय राजा वीरेन्द्रको सालिक पनि पुनःस्थापना गरिएको जानकारी दिए । उनले दिउँसोको समयमा सडकमा मानिसको आवतजावतका कारण काम गर्न असहज हुने भएकाले रातको समयमा सालिक ठड्याइएको बताए ।

जेनजी आन्दोलनमा भत्काइएका सालिकहरु पुनःस्थापना गरिएकोमा नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइराला र नेकपा (एमाले)का नेता कृष्णप्रसाद श्रेष्ठ लगायतले खुसी व्यक्त गरेका छन् । सो अवसरमा उपस्थित मातृभूमि नवनिर्माण अभियानको पहलमा गठन गरिएको स्वर्गीय राजा वीरेन्द्रको सालिक निर्माण पुनःस्थापना समितिका संयोजक तेजविक्रम शाहले २० वर्षको प्रयासपछि सबैको सहयोग र सद्भावले वीरेन्द्रको सालिक पुनःस्थापना गर्न सफल भएको बताए ।

जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गतेका दिन नेपालगन्जमा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु विकको सालिक तोडफोड गरिएकोमा स्थानीयले पुनःस्थापनाको माग गर्दै आएका थिए । त्यस्तै स्वर्गीय राजा वीरेन्द्रको सालिक पनि पुनःस्थापनाको माग स्थानीयस्तरबाट निरन्तर हुँदै आएको थियो ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार