२०८३ असार २२ , सोमबार 7, July 2026, Tuesday

देशभर मनसुनी वायुको प्रभाव कायमै, विभिन्न ठाउँमा वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २२ गते सोमबार

देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार